कञ्चनपुर – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) कञ्चनपुरको आयोजनामा जिल्ला स्तरीय हाजिरजवाफ प्रतियोगितामा सम्पन्न भएको छ। शनिबार लिटिल बुद्ध एकेडेमीमा एनप्याब्सन कञ्चनपुरले उक्त प्रतियोगिताको आयोजना गरेको थियो।
प्रतियोगिता आधारभुत तह क, आधारभुत तह ख र माध्यमिक तह क गरी तिन तहमा आयोजना गरिएको थियो। आधारभुत तह क मा २७ विद्यालयका ८१ जना विद्यार्थीहरू सहभागि भएका थिए भने आधारभुत तह ख मा २९ विद्यालयका ८७ जना विद्यार्थी सहभागी भएका थिए। त्यसैगरी माध्यमिक तह क मा २१ विद्यालयका ६३ जना विद्यार्थी सहभागी भएका थिए।
प्रतियोगिताबाट आधारभुत तह क मा श्री मोडेल चाइल्ड केयर बोर्डिङ स्कुल प्रथम, लिटिल बुद्ध एकेडेमी द्वितिय, जनज्योति माध्यमिक विद्यालय तृतीय भएको छ भने नव प्रतिभा पब्लिक सेकेन्डरी स्कुलले सान्त्वना स्थान प्राप्त गरेको छ। आधारभुत तह ख मा लिटिल बुद्ध एकेडेमी प्रथम, श्री सगरमाथा शिक्षा एकेडेमी द्वितीय, जनज्योति माध्यमिक विद्यालय तृतीय भएको छ भने युनाइटेड पब्लिक सेकेन्डरी स्कुलले सान्त्वना स्थान प्राप्त गरेको छ।
त्यसैगरी माध्यमिक तह क मा भुवनेश्वरी विद्या मन्दिर प्रथम, विस्डम एकेडेमी द्वितीय, सञ्जीवनी शुक्लाफाँटा तृतीय भएको छ भने लिटिल बुद्ध एकेडेमीले सान्त्वना स्थान प्राप्त गरेको छ।
प्रतियोगितामा प्रथम हुन सफल विद्यालयलाई ४ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने द्वितीय स्थान प्राप्त गर्न सफल विद्यालयहरूलाई ३ हजार नद सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको छ। तृतीय स्थान प्राप्त गर्न सफल विद्यालयहरूलाई २ हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको छ भने सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यालयहरूलाई १ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ। साथै प्रतियोगितामा सहभागि विद्यालयहरूलाई समेत सहभागिताको प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतियोगिताका संयोजक एवम् एनप्याब्सन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष बलदेव भट्टले प्रतियोगितामा २३१ विद्यार्थी सहभागि भएको बताए। त्यसैगरी एनप्याब्सन कञ्चनपुरका सहसचिव सुरेन्द्र राज जोशीले वार्षिक क्यालेण्डर अनुसार उक्त प्रतियोगिताको आयोजना गरिएको बताए।
पुरस्कार वितरण कार्यक्रममा एनप्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दको सभापतित्व रहेको थियो भने भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा एनप्याब्सनका केन्द्रिय उपाध्यक्ष श्याम सिह मौनी, एनप्याब्सन सुदूरपश्चिम प्रदेशका सचिव बिर बहादुर चन्दको विशिष्ट आतिथ्य रहेको थियो।