कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर -०६ मा वृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। शनिबार वडा कार्यालयले वृहत सरसफाइ कार्यक्रमको आयोजना गरेको थियो।
जनचेतनाको कार्यक्रमहरूलाई अगाडि बढाउने उद्देश्यले आयोजना गरिएको उक्त सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, नगर प्रहरी, टोल विकास संस्थाका पदाधिकारी तथा स्थानीयको सहभागिता रहेको थियो ।
वडाले शुरु गरेको सरसफाइ अभियान अन्तर्गत आज बैजनाथ टोलमा सफाइ गरिएको कार्यवाहक वडा अध्यक्ष देवकी जोशीले जानकारी दिनुभएको छ। साथै सडक वरपरको झाडी समेत कटान गरिएको उहाँले बताउनुभएको छ।
सडकमा गाई वस्तु छाड्ने, फोहोर फाल्ने जस्ता कार्य नगर्न वडा अध्यक्ष जोशीले वडाबासीलाई अनुरोध समेत गर्नुभएको छ। उहाँले भन्नुभयो ‘फोहोर व्यवस्थापन गर्न सबैले आआफ्नो तर्फबाट हातेमालो गर्न अति आवश्यक छ। सडकमा फोहोर फाल्ने, गाईबस्तु बाँध्ने कार्य नगर्न हामीले आफैबाट सुरुवात गर्न आवश्यक छ।’
आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने उहाँले बताउनुभएको छ। त्यसैगरी भीमदत्त -०६ का स्थानीय भोजराज भट्टले वडामा यस्ता कार्यक्रमहरू निरन्तर भइरहनुपर्ने बताउनुभयो।