कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका कलुवापुरका स्थानीय महिला किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । स्थानीय सरकारले कृष्णपुर नगरपालिका -०७ कलुवापुरका स्थानीय महिला किसानलाई कृषि सामाग्री वितरण गरेको हो ।
शुक्रबार एक कार्यक्रमका बिच कृष्णपुर नगरपालिका कृषि विकास शाखाले फुलबारी महिला कृषक समुहलाई कृषि सामाग्री हस्तान्तरण गरेको छ । कृष्णपुर नगरपालिका कृषि विकास शाखा प्रमुख लाल बहादुर धामीले पालिकाले महिला कृषक समुहलाई सामाग्री खरिद गरेर दिएको बताए । उनका अनुसार विद्युतीय सिँचाइ मोटर, इलेक्ट्रोनिक ट्याङ्की, पोली हाउस सहितका कृषि सामाग्री वितरण गरिएका छन् ।
यसका साथै स्थायी टनेल समेत निर्माण गरिएको छ । ‘स्थायी टनेल पनि निर्माण गरिएका छौँ, ‘उनले भने, ‘वर्षभरी किसानले जतिबेलामा पनि मौषम अनुसार तरकारी खेती गर्न सक्छन् ।’ फुलबारी महिला कृषक समुहकी अध्यक्ष हरिना रानाले पालिकाबाट पाइएका कृषि सामाग्री समुहमा रहेका किसानलाई वितरण गरिने बताइन् । उनले १५ जना महिला किसानलाई सामाग्री वितरण गरेर कृषि कार्यका लागि सहजता गराउने बताइन ।
कृष्णपुरकी उपप्रमुख द्रोपती रानाले किसानको माग अनुरूप कृषि सामाग्री उपलब्ध गराएको बताउँदै उनले सामाग्री पाएपछि किसानलाई सुविधा भएको बताइन् । कृष्णपुरका मेयर हेमराज ओझाले महिला किसानलाई पनि आत्मनिर्भर बनाउने उद्देश्यका साथ सामाग्री वितरण गरिएको बताए । ‘हाम्रो नगरका आधिकांश पुरुष व्यवसायिक कृषिखेतीमा जुटेका छन्, ‘उनले भने, ‘सँगसँगै महिलालाई पनि कृषिमा आत्मनिर्भर बनाउन खोजेका छौँ ।’ किसानलाई आत्मनिर्भर बनाउनका लागि कृषि सामाग्री वितरणदेखि उनीहरूलाई थप आत्मनिर्भर बनाउनका लागि बजार सहितको सुनिश्चिता गरिने बताए ।
Discussion about this post