कञ्चनपुर – महाकाली प्रादेशिक अस्पतालले एघार महिनाको अवधिमा १ लाख ५ हजार बढी नागरिकलाई स्वास्थ्य सेवा दिएको छ । कञ्चनपुरमा रहेको महाकाली प्रादेशिक अस्पतालले चालु आर्थिक वर्ष ०८०-०८१ मा १ लाख ५ हजार २१८ जना नागरिकलाई स्वास्थ्य सेवा दिएको हो ।
महाकाली प्रादेशिक अस्पतालको तथ्याङ्क अनुसार ओपिडीतर्फ ७३ हजार, ४५३ र इमर्जेन्सी तर्फ ३१ हजार, ७६५ बिरामीले उपचार पाएका छन । महाकाली अस्पतालमा विशेषज्ञ जनशक्ति तर्फ जनरल सर्जरी, बालरोग, स्त्री तथा प्रसुती एनेस्थेसियोलोजी सेवा करारमा जनशक्ति आएपछि बिरामीको संख्या वृद्धि भएको जनाईएको छ ।
५ बाट डाईलाईसिस वार्ड १० बनाएको, सर्जरी तथा बालरोग विभागको छुट्टै व्यवस्था गरिएको, भौतिक पूर्वाधार विकास हुँदा सेवा सुविधामा समेत वृद्धि भएको छ ।महाकाली अस्पतालले सिटी स्क्यान सेवा, ओपिडी भवन तला थप्ने, थप विशेषज्ञ चिकित्सकको व्यवस्था, नयाँ भवनबाट सेवा सुचारु गर्ने, नयाँ फार्मेसी र पार्किङ सेवा विस्तार गरिनेछ ।
महाकाली अस्पताल प्रादेशिक अस्पतालका निमित्त मेसु डा. अर्जुन कुमार भट्टले सीमित स्रोत साधनका बिच अधिकतम स्वास्थ्य सेवा विस्तार गरिएको बताए । निमित्त मेसु भट्टले विगतका वर्ष भन्दा स्वास्थ्य सेवा विस्तारमा बढोत्तरी भइरहेको बताए ।महाकाली अस्पताल प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्ट (किरण) ले दरबन्दी अनुरूप चिकित्सक स्वास्थ्यकर्मीको पदपूर्ति नहुँदा सेवा प्रभावमा समस्या भएपनि उपलब्ध स्रोत साधन प्रयोग गरेर सेवा प्रवाह गरिरहेको बताए ।
अध्यक्ष भट्टले थुप्रै सेवा प्रवाहले नागरिकको विश्वासको केन्द्र बनिरहेको बताए । उनले आगामी दिनमा थप सेवा सुविधा विस्तार गर्दै नागरिकलाई उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
Discussion about this post