कञ्चनपुर – आसन्न २६ जेठमा हुने नेपाल पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको निर्वाचनमा प्रेस सेन्टर नेपालले तीनै पत्रकार महासंघ चुनावमा सहभागिता जनाएको भएको छ । प्रेस सेन्टर नेपाल कञ्चनपुर जिल्ला समन्वय समितिको बुधबार बसेको बैठकले आसन्न पत्रकार महासङ्घको निर्वाचनमा सक्रिय र उल्लेखनीय सहभागिता जनाउने बताएको छ।
बुधबार महेन्द्रनगरमा बसेको प्रेस सेन्टर नेपाल कञ्चनपुरको बैठकले पत्रकार महासंघ जिल्लाको निर्वाचनमा प्रेस सेन्टरका नेता राजेन्द्र प्रसाद अवस्थी नेतृत्वमा चुनावमा सहभागि हुने निर्णय गरेको प्रेस सेन्टर नेपाल कञ्चनपुरका सचिव भाष्कर केसीले बताए । बैठकले पत्रकार महासंघ शाखा कञ्चनपुरका हाल सचिवमा रहेका अवस्थीलाई नै भावी नेतृत्व सहित टिम सहभागि हुने निर्णय गरेको छ । संगठनको एकल नेतृत्वमा तथा पत्रकार आबद्ध संघ सङ्गठनहरूसँग सहकार्यमा चुनावी कार्यक्रममा सहभागी हुने गरी बैठकले निर्णय गरेको छ।
प्रेस सेन्टर नेपालका उपाध्यक्ष रामसिंह ठगुन्ना प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथि ठगुन्नाले सम्पूर्ण प्रेस सेन्टरसँग आबद्ध तथा अन्य पत्रकार हरूलाई एकबद्ध र एकजुट भएर नयाँ नेतृत्व चयनका लागि आसन्न पत्रकार महासङ्घको चुनावमा सहभागी हुन अनुरोध गर्नुभयो। मङ्गलबार महेन्द्रनगरमा भएको बैठकले जिल्ला अध्यक्षका लागि प्रेस सेन्टरका केन्द्रीय सचिव तथा पत्रकार महासङ्घ कञ्चनपुरका जिल्ला सचिव राजेन्द्र अवस्थीलाई अध्यक्ष पदका लागि सर्वसहमतिले अघि सारेको छ।
यस्तै महासङ्घको सचिव पदका लागि प्रेस सेन्टर प्रदेश कमिटीका सचिव मोहन बिष्टलाई अघि सारेको छ । बैठकले जेठ १३ गते अग्रज पत्रकार तथा साहित्यकार कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा कञ्चनपुर जिल्लामा विभिन्न कार्यक्रमहरू गर्ने निर्णय गरेको छ। साथै बैठकले स्वास्थ्य उपचार गराइरहनुभएका प्रेस सेन्टरका नेता तथा कञ्चनपुर जिल्लामा क्रियाशील पत्रकार दिल्लीराज पन्तको स्वास्थ्य लाभको कामना गरेको छ। सेन्टरका जिल्ला अध्यक्ष अरुण भट्टको अध्यक्षतामा विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको छ। बैठकले पत्रकार महासङ्घको जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिमा आकांक्षी पदाधिकारीहरूको धारणा संकलन गर्दै पदाधिकारीहरूको छनोट गरेको छ।