कञ्चनपुर – एसपी चक्रराज जोशीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कमान्ड सम्हालेको तीन महिना भयो । प्रहरी उपरीक्षक (एसपी) जोशीले कञ्चनपुरको कमान्ड सम्हालेको तीन महिनामा भएका काम कारवाहीको जिल्ला प्रहरी कार्यालयले उपलब्धि सार्वजनिक गरेको छ ।
गत फागुन पहिलो साता कञ्चनपुर आएका एसपी जोशी नेतृत्वको कमान्डको प्रहरीले फरार अभियुक्त पक्राउदेखि चोरी तस्करी विरुद्धमा निर्मम कारवाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार फरार तीन महिनाको अवधिमा १ सय १३ फरार अभियुक्त पक्राउ परेका छन । अदालतबाट दोषी ठहर भई कैद र जरिवाना भुक्तानी नगरेका फागुनमा ४३, चैत्र २९ र बैशाखमा ४१ जना फरार अभियुक्त पक्राउ गरेका हुन ।
तीन महिनाको अवधिमा भन्सार चोरी तस्करी विरुद्धमा समेत निर्मम कारवाही गरिएको छ । फागुनमा ४८ लाख, ५८ हजार, चैत्रमा ४२ लाख, ८५ हजार, बैशाख ६७ लाख, ६१ हजार गरेर तीन महिनाकै अवधिमा १ करोड, ५९ लाख बढि रुपैयाँको भन्सार चोरी-छलीका समान बरामद गरेर भन्सार बुझाएको छ ।
यस्तै नदीजन्य पदार्थको गैर कानुनी उत्खनन गर्ने ३२ टेक्टर, २ टिप्पर, १ जेसिभीलाई नियन्त्रणमा लिएको छ । उनीहरूबाट ११ लाख, ३४ हजार राजस्व संकलन गरिएको छ । यस अवधिमा जुवातास खेल्ने २५ जना पक्राउ गरेर उनीहरूको १ लाख, ३० हजार राजस्व संकलन गरेको छ ।
हराएका ९७ मानिस मध्ये ६२ जना फेला पारेको र ४९ जना सीमा नाकाबाट उद्धार गरिएको छ । विभिन्न प्रकृतिका फागुनमा ६८, चैत्र ८० र बैशाखमा ९० गरेर २ सय ३८ मुद्दा दर्ता गरिएको छ ।
लागू औषधमा संलग्न एव कारोबारीहरूलाई समेत पक्राउ गरेको छ । फागुनमा ३०, चैत्रमा २४ र बैशाखमा २३ गरेर ७७ जनालाई पक्राउ गरेर कारवाही चलाएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत समेत लागू औषध, सरसफाइ, बाल विवाह न्यूनिकरण, महिला हिंसा न्यूनिकरण, आत्महत्या रोकथाम, सवारी दुर्घटना, नागरिक सुनुवाइ सहित ३२५ कार्यक्रम गरिएका छन् ।