कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्थानीय विपद् व्यवस्थापन समिति (एलडीएमसी) का प्रतिनिधिहरूलाई दुई दिने क्षमता विकास तालिम दिइएको छ।
निड्स नेपाल कञ्चनपुरको आयोजना र अक्सफामको साझेदारीमा स्थानीय विपद् व्यवस्थापन समिति (एलडीएमसी) का प्रतिनिधिहरूलाई दुई दिने योजना तर्जुमा चरण सम्बन्धी क्षमता विकास तालिम दिइएको निड्स नेपाल कञ्चनपुरका परियोजना संयोजक ईश्वर उपाध्यायले जानकारी दिएका छन्।
साथै कञ्चनपुरका चार पालिकाका २२ वडा र ४० वटा उच्च जोखिमका समुदायमा उक्त कार्यक्रम सञ्चालन भइरहेको निड्स नेपाल कञ्चनपुरका परियोजना संयोजक उपाध्यायले बताएका छन्। विपद्लाई मूल प्रवादिकरण गर्नका लागि तालिम आयोजना गरिएको उनको भनाई रहेको छ।
त्यसैगरी भीमदत्त नगरपालिका -११ का वडा अध्यक्ष एवम् भीमदत्तका विपद् व्यवस्थापन समिति संयोजक प्रकाश थापाले उक्त तालिम निकै नै प्रभावकारी रहने बताएका छन्। साथै आगामि दिनमा यो कार्यक्रम पश्चात समुदाय स्तरमा कार्य गर्न सजिलो हुने वडा अध्यक्ष थापाको भनाई रहेको छ।
कार्यक्रमका प्रमुख अतिथि एवम् भीमदत्तका नगर प्रमुख पदम बोगटीले यो कार्यक्रम प्रभावकारी रहने बताउँदै कार्यक्रम उपयुक्त समयमा सञ्चालन गरिएको बताएका छन्। साथै यो कार्यक्रम पश्चात आगामि दिनमा कार्य गर्न सजिलो हुने उनको भनाई रहेको छ। त्यसैगरी निड्स नेपालकी कार्यसमिति सदस्य अन्जु भट्टले कार्यक्रममा सबैको सक्रिय सहभागिता रहेको बताउँदै आगामि दिनहरूमा पालिकासंग निरन्तर सहकार्य र समन्व्य गर्दै अघि बढ्ने बताईन्।
कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको प्रमुख आतिथ्य रहेको थियो भने निड्स नेपाल कार्यसमिति सदस्य अन्जु भट्टको अध्यक्षता रहेको थियो। तालिममा भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखक जोशी लगायत सम्पूर्ण वडाका अध्यक्ष, विपद व्यवस्थापन समितिका सदस्य र स्थानीय विपद् व्यवस्थापन समिति (एलडीएमसी) का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।