सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरका जिल्लामा ‘भिटौला’को चटारो

चैत अन्तिम साता लागेसंगै बैतडीसहित सुदूरपश्चिमका केही जिल्लाहरुमा भिटौलाको चटारो बढेको छ । चैत महिनामा माइती पक्षले विवाहित छोरी बैनीहरुलाई भेट्ने चलन रहेकाले भिटौला जानेहरुको चटारो बढेको हो ।

चैत महिनामा छोरीबैनीहरुलाई भेट्ने प्रचलन अनुसार चैतको अन्तिम सातातिर भेटघाट गर्नेहरु बढेका स्थानीय दामोदर अवस्थीले बताए । भिटौला जाने चलन अनुसार छोरीबहिनीहरुको घरमा गएर भेटघाट गर्नेहरु बढेका उनले बताए । उनले भने ‘चैत महिनामा माइती पक्षले छोरीबैनीहरुलाई भेट्ने चलन रही आएको छ । सोही चलन अनुसार भेटघाट गर्नेहरुको आवतजावत बढेको छ ।’

माइती पक्षको नियास्रो मेट्नका लागि चैतको महिना मिठो मसिनो खानेकुरा लगेर भिटौला जाने चलन रही आएको सुर्नयाका स्थानीय सरस्वती बिष्टले बताइन् । यो महिनाको शुरुमा भेटघाट गर्न नपाएकाहरु चैतको अन्तिम साता लागेसंगै भेटघाटमा जाने र आउने क्रम बढेको उनले बताइन् । उनले भनिन् ‘यो महिना भिटौलाका कारण गाउँघरमा रमाइलो हुने गरेको छ । माइती पक्ष भेट्न आउँदा नियास्रो मेटिने गरेको छ । माइती पक्षले भेट्न नआए नरमाइलो हुने भएकाले जसरी पनि भेटघाट गर्ने चलन रहेको छ ।’

World Link Ads
Mahakali Polytechnic

माइती पक्षले मिठामिठा परीकारहरु पकाएर छोरीबैनीलाई भेट्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । उनले भने ‘भिटौलो संस्कृति मानसखण्ड क्षेत्रको अनुपम संस्कृति हो । यसले परिवारहरुबीच, इष्टमित्रहरुबीच सामाजिक सदभाव र पारिवारिक सम्बन्ध बलियो बनाउँछ ।’

Sana Kishan

पहिला पहिला घरमै पकाएका चिजवस्तुहरु लगेर भेटघाट गर्ने चलन रहेकोमा त्यो चलन भने फेरिएको छ । अहिले बजारबाटै सामग्रीहरु किनेर लैजाने गरेको पाइन्छ ।

भिटौलाको चलनले छोरा र छोरीबीचको विभेद अन्त्यका लागि समेत भूमिका खेलेको दार्चुलाका स्थानीय गंगासागर जोशीले बताए । माइती पक्षले छोरीहरुलाई पनि उत्तिकै महत्व दिने गरेको कुरा यो संस्कृतिले सन्देश दिएको उनको भनाइ छ ।

वसन्त ऋतुमा माइती पक्षको सम्झना आउने र यो बेला माइती पक्ष पुगेमा नियास्रो मेटिने भएकाले परापूर्वकालदेखि यो संस्कृति चल्दै आएको शिक्षक तिलकसिंह बोहराले बताए । उनले भने ‘वसन्त ऋतुमा पालुवा पलाउने, न्याउलीहरु बास्ने हुन्छन् । यो समयमा छोरीबैनीहरुलाई माइतीको सम्झना हुने गर्दछ । माइती पक्षको नियास्रो मेटाउन भिटौला जाने चलन रही आएको हो ।’

छोरी बैनीहरुलाई चैतको महिना भेटघाट गर्न भिटौला जाने चलन बैतडी र दार्चुला जिल्लामा बढी रहेको पाइन्छ । यिनै जिल्लाबाट तराइका जिल्लामा बसाइसरेकाहरुले पनि यो संस्कृति अनुकरण गरेको पाइन्छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.