
एउटा सपना थियो
आफ्नो होस् अविभाज्य होस्
सपनाहरूको छुट्टै राज्य होस्
जहाँ
एकान्त होस् शान्त होस
जवान होस् इमान होस्
काम होस् दाम होस्
श्रम होस् आराम होस्
सन्तुष्टि होस् आनन्द होस्
कलह नहोस् द्वन्द नहोस्
विद्वान होस् घमण्ड नहोस्
वैभव होस् सम्भ्रान्त नहोस्
शासक पाखण्डी नहोस्
विद्वान होस् उद्वण्डी नहोस्
जनता एकताबद्ध होस्
काम चोर नहोस्
तर
यस्तो भएन
अहँ हुँदै भएन
कहि भएन कत्ती भएन
यो देश
मेरो देश हुन सकेन
श्रम भएन काम भएन
शिक्षा भएन संस्कार भएन
विश्वास भएन भर भएन
भरोसा भएन डर भएन
इमान भएन ध्यान भएन
सम्मान भएन स्वाभिमान भएन
विचार भएन गन्तव्य भएन
विशाल भएन भव्य भएन
सरकार!
तिम्रो परिचय पत्रले
मेरो परिचय मेटाउन थाल्यो
सपना टुक्र्याउन थाल्यो
सपना देख्न पनि मन डराउन थाल्यो
मान्छे तड्पाउन थाल्यो
त्यसैले
बिन्ती छ सरकार! फिर्ता लैजाऊ
तिमीले दिएका परिचय पत्रहरू
गृह मन्त्रालयका नागरिकताहरू
विश्वविद्यालयका प्रमाण पत्रहरू
आयोगका मतदाता परिचय पत्रहरू
मालपोतका लालपुर्जाहरू
सब फिर्ता लैजाऊ
बाच्न मसँग सपना बाँकी छ
एकथान जिन्दगी यत्ती काफी छ
