
नपुगे हुन्थ्यो तर चाँडै नै पुग्ने
दुःखको खबर जस्तो रोग बोकेर
चाँडै पुग्नु पर्ने तर ढिलो मात्रै पुग्ने
खुसीको खबर जस्तो औषधी खोज्दै
आफ्ना दीनमा भट्किरहेको विपत्ति हुँ म
म हुनुपर्ने सबैथोक बाहेकको भएको छु
मुहानै नभएको ठाउँको धारा जस्तो भएकोछु
प्यासीहरूलाई धोका बाहेक केही पिलाउन सक्दिनँ
बाटो छेउको जलेको मुढा जस्तो भएकोछु
राती बटुवा तर्साउन बाहेक केही जान्दिनँ
डढेको फलाम जस्तो भएकोछु
चोक्टा चोक्टा उछिट्टिएर कामै नलाग्ने भएछु
माटोमा पोखिएको दूध जस्तो विगत छ मेरो
बुढो पीपलको रुखमा उम्रेको
रबरको रुख जस्तो मेरो अस्तित्व
आफ्नो भागको भाग्य पनि नपाएको अभागी
विद्युतिय प्रवाह भएको स्विचबोर्डको
त्यो बेकामको स्विच जस्तो भएकोछु
मलाई थिचेर नखर्चिनु आफ्नो समय
जे जे नहुनु थियो त्यो हुनु पूर्व सोच्थेँ
यदि-
खुसीको सन्देश बोकेको
चिट्ठी हुँदो हुँ त
ढिलै पुगे पनि ठेगानामा खुसी त दिन्थे
साहुको खराबै ऋण हुँदो हुँ त
कतै जोडिएर बसिरहन्थे जगानुजुग
कसैको दुश्मनै हुँदो हुँ त
सम्झनामा रहिरहने थिएँ ईर्ष्याअवधि भर
प्रेमी हुँदो हुँ त
बिर्सिदिन्थे उपरोक्त विषयहरू
अफसोच
/
अहिले
तिमीले मलाई प्रेमी बनाएर गल्ती गर्यौ
तिमीले आफ्नो औषधी सम्झेर गल्ती गर्यौ
समय मै तिमी सम्म नपुगेको
म त्यो औषधी हुँ
जसको म्याद अब सकिसकेको छ
केही गरी तिम्रो हातमा पुगे भनेपनि
नखोल्नु मलाई, नचाख्नु मलाई
म्याद सकिएको औषधीले फाइदा होइन निकै हानि गर्छ।
