
कालो कराईमा
जब आमाले
सेतो मही राख्नु हुन्थ्यो
म कराएर बोल्थेँ
“आमा दुध हाल्नु न !”
मेरो चर्को स्वर सुनेर
आमा भन्नुहुन्थ्यो
“एक सर्को दुधले
कसरी ढिँडो बन्छ लाटा ?”
म जिद्दी गरेर त्यसै
आमाको गिद्दी तताउथेँ
अनि आमा “ओइ” भनेर
यसै मही तताउनु हुन्थ्यो,
जिउमा ज्यान आउँछ कि भनेर
जमाएको घिउ पनि हाल्नु हुन्थ्यो !
मिनटै छिटोमा
मकैको पिठो तयार गरेर
आमाले मलाई भन्नुहुन्थ्यो
“लाटा जात मिठो ल्यात !”
म त जिद्दी कहाँ छिट्टै मान्थ्ये
अनि थोरै नमिठो गाली खाएर,
खाली थालीमा धेरै मिठो हाली
आमालाई भन्थ्ये “सब्बै हाल्नु ल !”
अनि आमा
अझै गाली गर्दै भन्नुहुन्थ्यो
“आजै थाली खाली गरे
भोली कसरी ढिँडो बन्छ लाटा ?”
तातो आगोको राफ सँगै
जब माथि बाफ उठ्थ्यो
पेटमा भोकका ज्वालाहरू फुट्थ्ये,
अनि म दुध बिर्सेर द्रुत स्वरले भन्थेँ
“आमा ढिँडो किन ढिलो पाकेको ?”
र रसिलो स्वरमा
आमाले भन्नुहुन्थ्यो,
“बसाल्ने बितिक्कै
कसरी ढिँडो बन्छ लाटा ?”
म त भोकाएको बालक,
भन्थ्ये “भो भो अब निकाल्नु न !”
अनि आमा भन्नुहुन्थ्यो,
“भोकलाई एकछिन रोक न !”
म रिसाउँदै पःर पल्टेर
प्लेट बजाउँदै भन्थ्ये,
“ढिँडो त डढेछ त आमा !”
अनि आमा कराई कोटर्दै भन्नुहुन्थ्यो
“नडढेरै कसरी ढिँडो बन्छ लाटा ???”
ए साँच्ची!
“डढ्नु भनेको त
अझ स्वादिष्ट पो हुनु रहेछ!”
यो कुरा मैले ‘म’ डढे पछि मात्र थाहा पाएको हुँ !

● प्रचण्ड भाष्कर
