
राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यबाहक सभापति डोलप्रसाद अर्यालले आफूहरु देशलाई समृद्धितिर लैजान मैदानमा उत्रिएको बताएका छन्। श्रममन्त्रीसमेत रहेका अर्यालले शनिबार सामाजिक सञ्जालमार्फत जनतालाई नेपाली हुँ भनेर गर्वको साथ भन्न सक्ने बनाउन मैदान उत्रिएको दाबी गरेका छन् ।
‘हामी यो देशलाई समृद्धितिर लग्न र जनतालाई नेपाली हुँ भनेर गर्वको साथ भन्न सक्ने बनाउन मैदानमा उत्रेका हौं त्यो तपाईं हामीले नै गर्नुपर्नेछ।’ उनले भने, ‘स्वदेश तथा विदेशमा रहनुहुने सबै सदस्य र शुभचिन्तकहरुलाई संयम भइदिन अनुरोध गर्दछौं।’

सर्वोच्चले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद खारेज गरेपछि पार्टीभित्र अन्योलता देखिएको छ। अर्यालले शुभचिन्तकलाई संयम हुन अनुरोध गर्दै देशलाई समृद्धितिर लैजान सबैलाई अनुरोध गरेका छन्।

शुक्रबार सर्वोच्च अदालतले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला गरेपछि बसेको बैठकले अर्याललाई कार्यबाहक सभापति र संसदीय दलको नेतामा चयन गरेपछि उनले यस्तो बताएका हुन्। नेपाली नागरिक नै नभएपछि लामिछानेले मन्त्री र पार्टी सभापति पद पनि गुमाएका हुन्।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले कानुनी राज्यको अवधारणा पार्टीको मूल विचार भएकाले न्यायालयको फैसलालाई पार्टीले सदैव सम्मान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकपश्चात महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा सभापति पदमा केन्द्रीय समितिको बैठकबाट पार्टीको विधान बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति चयन गरे उल्लेख छ।
ढकालका अनुसार पार्टी संसदीय दलको नेतामा पार्टीका कार्यवाहक सभापति अर्याललाई चयन गरेको छ। लामिछानेको पद खारेज भएपछि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १९ सांसद रहेका छन्। अन्नपूर्ण पोस्ट बाट सभार
