
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सम्पदा र सभ्यता संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन्।
काठमाडौंमा बिहीबार आयोजित अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा खड्गी सेवा समिति अन्तर्गतका ४७ वटा परम्परागत गुठीलाई आर्थिक अनुदान रकम सहयोगको चेक हस्तान्तरण गर्दै उनले यस्तो बताएका हुन्।


उनले आफ्नो सभ्यता र सम्पदा जोगाउन अहिलेको युवा पुस्ता नै अन्तिम पुस्ता भएको पनि बताए। उनले अहिलेका युवा पुस्ताले पनि सांस्कृतिक सम्पदाको संरक्षण नगरे विस्तारै सम्पदा र सभ्यता लोप हुँदै जाने बताए।
उनले काठमाडौं उपत्यकावासीसँग आफ्नो भाषा र संस्कृति, बाजागाजा, सभ्यता, सम्पदा जोगाउन अग्रसर हुन आग्रह गरे। उनले भने, ‘हाम्रो सभ्यता र सम्पदा जोगाउनका लागि हाम्रो पुस्ता अन्तिम हो कि जस्तो लाग्छ। हामीले जोगाएनौँ, संरक्षण गरेर राख्न सकेनौँ भने विस्तारै अब आउने दिनमा अझै गाह्रो हुनसक्छ। काठमाडौं उपत्यकामा बस्ने विभिन्न समुदायले हाम्रो भाषा, साहित्य, संस्कृति, बाजागाजाको सभ्यता, सम्पदा जोगाउने काममा महानगरले सहयोग गर्नेछ।’
महानगर प्रमुख साहले सभ्यता र संस्कृतिको जगेर्ना गर्न महानगरले सहयोग गर्ने र सभ्यता, संस्कृतिको संरक्षण काठमाडौं महानगरपालिकाको दायित्व र कर्तव्य भएको पनि उल्लेख गरे। थाहा खबर बाट सभार
