बैतडी – जिल्लाको दशरथचन्द नगरपालिका २ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पिङ अर्थात ‘हिङलो’ राख्ने तयारी भएको छ । मन्दिरमा परापूर्वकालदेखि नै ‘हिङलो’राख्ने प्रचलन रहेकाले नयाँ ‘हिङलो’ राख्ने तयारी भएको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । मन्दिरमा राखिएको पुरानो ‘हिङलो’ जीर्ण भएपछि नयाँ राख्ने तयारी भएको हो ।
मन्दिरमा गएको ५-७ बर्ष यता हिङलो थिएन् । परम्परा अनुुसार भगवतीको मन्दिरमा ‘हिङलो’ राख्ने तयारी भएको उनले बताए । पिङ अर्थात ‘हिङलो’मा भगवतीको सवारी भएर पिङ खेल्ने जनविश्वास रही आएको भण्डारे बोहराले बताए । उनले भने ‘निङ्गलाशैनी भगवती मन्दिरमा परापूर्वकालदेखि नै ‘हिङलो’ राख्ने चलन रही आएको हो । हिङलो राख्ने परम्परा अनुसार हिङलो राख्ने तयारी भएको हो ।’
पहिला पहिला दार्चुलाको लालीबाट सालको काठ ल्याएर मन्दिरमा हिङलो राख्ने चलन रहेको थियो । तर अहिले निङ्गलाशैनी भगवतीकै धार्मिक वनबाट देवदारको हिङलो राख्ने तयारी भएको स्थानीय प्रकाश बोहराले बताए । दार्चुलाको लालीबाट सालको काठ ल्याउन सम्भव नभएपछि स्थानीय युवाहरुको सक्रियतामा देवदारको हिङलो चढाउने तयारी भएको उनले बताए । उनले भने ‘निङ्गलाशैनी भगवती मन्दिरको प्रांगणमा हिङलो राख्ने पहिलादेखिको परम्परा हो । तर पछिल्लो समयमा हिङलो नहुँदा खल्लो भएको थियो । हामीहरुले सल्लाह गरेर हिङलो राख्ने निर्णय गरेका हौं ।’
मन्दिरमा हिङलो राख्नका लागि रुख काटेर तयारी भएको छ । केही दिनभित्रै मन्दिरमा हिङलो राखिने अर्का स्थानीय प्रकाश बोहराले बताए । पौष शुक्ल पूर्णिमाको अवसर पारेर आजदेखि हिङलो राख्ने कार्य शुरु भएको उनले बताए ।
यस्तै पौष शुक्ल पूर्णिमाकै अवसर पारेर निङ्गलाशैनी भगवती मन्दिरमा ६२ केजीका दुईओटा घण्ट चढाइएको छ । नयाँ बनेको गेटमा दुईओटा घण्ट राखिएको स्थानीय धनबहादुर क्षेत्री ९जगदीशले बताए ।
(sagunkhabar.com बाट साभार)