
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वस्थ भएर अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न अस्पताल पुगेका छन्।
रुघाखोकी, ज्वरो र छातीमा संक्रमण भएपछि अध्यक्ष नेपाल मंगलबार राति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्। उनको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।


उनीहरूले नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै केही समसामयिक राजनीतिक विषयमा कुराकानी गरेका थिए।
सरकार गठनका लागि राष्ट्रपतिले दिएको पुस १० गतेसम्मको समय आउन ४ दिन मात्रै बाँकी छ। अहिलेसम्म कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा सत्ता गठबन्धन निष्कर्षमा पुग्न सकेको छैन।
उनीहरूले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतका प्रमुख पदहरु प्याकेजमै भागवण्डा गर्ने बताउँदै आए पनि सहमति जुटिसकेको छैन। थाहा खबर बाट सभार
