
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा नयाँ लगानी भित्र्याउन सबैको ध्यान आवश्यक रहेको बताएकी छन्।
राष्ट्रपतिले नयाँ लगानी भित्राएर उद्योगी व्यवसायीलाई उत्साहित बनाउन सबै पक्षको ध्यान जानुपर्ने बताइन्। विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसको मैदानमा बिहीबार विराट एक्स्पो–२०७९, कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले कोरोना महामारीपछि शिथिल बनेको आर्थिक गतिविधि र राष्ट्रिय अर्थतन्त्रलाई नयाँ उत्साहसहित माथि उठाउन सबै जुट्नुपर्ने बताइन्।


कृषि तथा औद्योगिक प्रदर्शनीले पर्यटन, कृषि, हस्तकला र औद्योगिक उत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास राष्ट्रपतिको छ । यस्ता प्रदर्शनीले मुलुकको अर्थतन्त्रलाई माथि उठाउन मद्दत गर्ने उनले बताइन् । ‘यस्ता प्रदर्शनीले अर्थतन्त्रलाई मजवुत बनाउन मद्दत पुग्छ । लगानी भित्र्याएर उद्योगी व्यवसायीलाई उत्साहित बनाउन अभिप्रेरित गर्छ,’ उनले भनिन्, ‘देशको प्रमुख औद्योगिक क्षेत्र विराटनगर पछिल्लो समय आफ्नो पहिचान र गौरव कायम गर्न संघर्षरत छ । प्रदेश १ को राजधानी विराटनगरले आर्थिक क्षेत्र र औद्योगिकरणमा ठूलो सम्भावना बोकेको छ ।’
राष्ट्रपतिले चीनको बजारसम्म सोझै जोडिने विराटनगरदेखि किमाथांकासम्मको कोशी राजमार्गको निर्माणले पूर्णता पाएपछि सम्भावनाका नयाँ ढोका खुल्ने पनि बताइन् । साथै औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई उनले आग्रह गरेकी छन् । राष्ट्रपतिले आगामी दिनमा औद्यौगिकरणका लागि विराटनगरले देशलाई नै सन्देश दिन अग्रसर हुने विश्वाससमेत व्यक्त गरिन् ।
विराटनगरमा आर्थिक तथा औद्योगिक विकासको धेरै सम्भावना रहेको बताउँदै उनले औद्योगिक कच्चा पदार्थका लागि आयातमै निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गरी स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरू स्थापना गर्नुपर्नेमा जोड दिइन्। उद्योगलाई चाहिने कच्चा पदार्थ देशभित्रै उत्पादन गर्न किसान र उद्योगीबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ। किशोर बुढाथोकीले अन्नपूर्ण पोस्टमा लेखेका छन्।
