सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिममा ३४ दल चुनावी मैदानमा

सुदूरपश्चिम प्रदेशमा आइतबार अर्थात् भोलि ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी लगभग सकिएको छ।

प्रदेशका ९ वटै जिल्लामा मतदानका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् भने सुरक्षाकर्मी पनि सबै क्षेत्रमा पुगेका छन्।

आमनिर्वाचनका लागि सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ सिटका लागि निर्वाचन भइरहेको छ।

World Link Ads
Mahakali Polytechnic

९ वटै जिल्लामा १६ लाख ५८ हजार चार जना मतदाता रहेकोमा ८ लाख १५ हजार २१३ पुरुष, ८ लाख ४२ हजार ७७४ महिला र १८ जना अन्य छन्।

Dirghayu Ads

यस्तै मतदान सम्पन्न भएको ५ दिनभित्रै प्रदेशमा प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आइसक्ने गरी तयारी थालिएको आयोगले जनाएको छ। प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोग सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख प्रेमराज भट्टले बताए।

उनले भने, ‘मतदान भएको ५ दिनभित्रै पहिलो हुने प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसक्नेछ। बाँकी एक साताभित्रै अरू काम सम्पन्न हुनेछ।’ यसका लागि आवश्यक कर्मचारीसहित सबै प्रबन्ध मिलाइसकिएको भट्टले बताए।

आमनिर्वाचनमा सुदूरपश्चिमबाट ६८ प्रतिशतको हाराहारीमा मत खस्ने आँकलन गरिएको छ। मतदाता शिक्षासँगै नमुना मतदानसमेत सफल रूपमा सम्पन्न भइसकेकाले मत बदर अत्यन्तै कम हुने आयोगको दाबी छ।

कैलालीबाट सबैभन्दा बढी प्रतिनिधिसभाका लागि पाँच तथा प्रदेशसभाका १० सदस्य छनोट हुनेछन्। कञ्चनपुरबाट प्रतिनिधिसभाका तीन र प्रदेशका ६, अछामबाट प्रतिनिधिसभाका दुई र प्रदेशसभाका ४ सदस्य छनोट हुनेछन्।

अन्य पहाडी जिल्ला डोटी, डडेलधुरा, बैतडी, बझाङ, बाजुरा र दार्चुलाबाट एक–एकजना प्रतिनिधि र दुई–दुईजना प्रदेशसभा सदस्य चुनिन लागेका हुन्। कानुनी व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यको प्रत्येक निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि दुई–दुईजना निर्वाचित हुन लागेका हुन्।

सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाता छन्। सबैभन्दा बढी कैलालीमा ५ लाख ३५ हजार ५१४ र कञ्चनपुरमा तीन लाख दुई हजार ५०९ तथा अछाममा एक लाख ५८ हजार ६५७ मतदाता छन्।

Sana Kishan

सबैभन्दा कम बाजुरामा ८३ हजार ५६७ मतदाता छन्। बझाङमा एक लाख २२ हजार ३७६, दार्चुलामा ८९ हजार १५४, डडेलधुरामा ९१ हजार २०१, बैतडीमा एक लाख ५० हजार १२९ र डोटीमा एक लाख २४ हजार ८७० मतदाता छन्। प्रदेशभर एक हजार १६१ मतदानस्थल र दुई हजार १४६ मतदान केन्द्र तोकिएको छ।

प्रदेशमा २५ हजार सुरक्षाकर्मी

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित बनाउँदै शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशमा करिब २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलले ११ हजार ५५९ म्यादी प्रहरीसहित प्रदेशभर सबै सुरक्षानिकायका करिब २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।

रावलका अनुसार नेपाल प्रहरीतर्फ मात्र विभिन्न दर्जाका ६ हजार ४१० जना निर्वाचनका लागि खटिएका छन् भने सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सोही हाराहारीमा जनशक्ति परिचालन गरेको छ।

प्रदेशभरका एक हजार १६१ मतदान स्थलमध्ये सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गर्दै सोहीअनुसार सुरक्षा योजना बनाएर लागू गरिएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिममा ४०५ मतदान स्थल सामान्य, ४७४ संवेदनशील र ३५२ अति संवेदनशील सूचीमा छन्।

८८ वटा स्थानीय तहमा १७७ मोबाइल टोली, २० वटा रिजर्व फोर्स र आवश्यकता परेमा प्रत्येक बुथमा पुग्ने गरी हवाई गस्तीको पनि व्यवस्था गरिएको एसएसपी रावलले बताए।

सुरक्षा योजनाअनुसार पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटिनेछ। हवाई गस्ती भने नेपाली सेनाले गर्नेछ।

सशस्त्र प्रहरीतर्फ ९ वटै जिल्लामा साढे पाँच हजार जना खटिएका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैजनाथ वाहिनीका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक (एसपी) रमेश शाहीले निर्वाचनका लागि प्रदेशभर तीन हजार ५३९ जना सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए।

उनले निर्वाचन सुरक्षा योजनाअनुसार सशस्त्र प्रहरीले दोस्रो घेरमा रहेर सुरक्षा दिने बताए। नेपाल प्रहरीमा जस्तै सशस्त्र प्रहरीले पनि मोबाइल टोली, रिजर्व फोर्स गरेर छुट्टाछुट्टै टोली खटाइएको जनाएको छ। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.