सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मध्यरातदेखि ‘स्थिर समय’ : प्रचार–प्रसारमा पूर्ण निषेध, मदिरा प्रतिबन्ध, सीमा सिल

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि आजराति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदानअघिको ४८ घण्टालाई स्थिर समय भनिएको छ । स्थिर समय अर्थात् मौन अवधिमा दल तथा उम्मेदवारको पक्षमा कुनै पनि निर्वाचन सामग्री प्रचार गर्न पाइने छैन ।

४ मंसिर बिहान ७ देखि साँझ ५ बजेसम्म हुने मतदानअघिको ४८ घण्टा अर्थात् आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार मौन अवधिमा दल तथा उम्मेदवारको पक्षमा छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइने छैन । कुनै पनि विधिबाट मत माग्ने र निर्वाचन प्रचार गर्न पाइने छैन । मतदानस्थलअघि राखिएका दल तथा उम्मेदवारका प्रचारप्रसार सामग्री सम्बन्धित दल तथा उम्मेदवारले पूर्ण रूपमा हटाउनु पर्नेछ ।

आयुक्त भण्डारीले उम्मेदवार, दल, भ्रातृ संगठनको सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा प्रचार सामग्री पूर्ण रूपमा हटाउनुपर्ने बताए । सामाजिक सञ्जाल, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश सूचना प्रचार सामग्रीलगायत पोस्ट, सेयर, लाइक र कमेन्ट गर्न पनि नपाइने उनको भनाइ छ ।

World Link Ads
Mahakali Polytechnic

आयोगले मौन अवधिमा मदिरा बिक्री–वितरण र सेवनमा निषेध गरेको छ । मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नका लागि मतदानको मितिभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मदिरा निषेध गराउन तथा सूक्ष्म अनुगमन गर्न सिडिओ, प्रहरीलाई निर्देशन दिइएको छ भने मदिरा व्यवसायीसँग सहयोग मागिएको छ ।

Dirghayu Ads
Sana Kishan

प्रवक्ता पौडेलले मौन अवधि कार्यान्वयन गराउन बिहीबार राति १२ बजेदेखि नै नेपाल भारत सीमानाका बन्द गरिने बताए । यसका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायमार्फत भारतसँग समन्वय गरिएको छ । मतदान नसकिएसम्म नाकाहरू बन्द हुनेछन् । निर्वाचन आयुक्त भण्डारीले मतदानको तीन घण्टाअघिदेखि मतदान समाप्त नभएसम्म मतदान केन्द्रमा खटिएका व्यक्ति वा कर्मचारीलाई बाधा हुने गरी कुनै काम गर्न नपाइने बताए ।

‘मतदान केन्द्र रहेको घर, भवन वा सो स्थलवरिपरि असर पर्ने गरी शान्ति भङ्ग गर्ने वा भय, त्रास पैदा हुने गरी निर्वाचन वातावरण बिथोल्न पाइँदैन । मतदानस्थलवरिपरि साउन्ड सिस्टम राख्ने, ठूलो स्वरले बजाउन पाइँदैन । बाजागाजा बजाउने, नाचगान, भोजभतेर गर्ने, जुलुस प्रदर्शन, जुनसुकै किसिमको सभा, समारोह गर्न, हुलहुज्जत, होहल्ला गर्न पाइँदैन,’ उनले भने । आचारसंहिताविपरीतका यी गतिविधि गरेमा निर्वाचन कसुर सजाय ऐनअनुसार कारबाही हुनेछ ।

आयुक्त भण्डारीले आचारसंहिता पूर्ण पालना गराउन निर्वाचन अधिकृत, मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, प्रहरी प्रशासन सबैलाई निर्देशन जारी गरिसकेको बताए । मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही हुने उनले चेतावनी दिए । निर्वाचन कसुर सजाय ऐनमा अधिकतम दुई लाखसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । मकालु खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.