सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीम रावल : एमालेमै बस्ने, मन परेकालाई मात्रै भोट माग्ने

66
Sana Kishan

काठमाडौं । नेकपा एमालेमा तल्लो तहका सबै कमिटीबाट सर्वसम्मत सिफारिस भएर पनि टिकट नपाएका नेता भीम रावलले पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

अछाम–१ बाट टिकट नदिएपछि ‘अध्ययन गर्दैछु’ भन्दै आएका नेता रावलले बिहीबार काठमाडौंको बरमहलस्थित एक व्याङ्केटमा पत्रकार सम्मेलन गरी एमालेमै बस्ने निर्णय सुनाएका हुन् ।
अर्का नेता घनश्याम भूसालले भने एमाले छोड्ने निर्णय लिएका थिए । त्यसैले रावलको प्रतिक्रिया चासोका साथ हेरिएको थियो । तर बाक्लो सुरक्षा घेराभित्र एक घण्टा बढी खर्चिएर धारणा सार्वजनिक गरेका रावलले एमालेमै संघर्ष गर्ने निर्णय सुनाए । ‘यो पार्टीमा देशभक्तहरुको विशाल पंक्ति छ, उनीहरुले संघर्ष गरेर अझैं ठीक ठाउँमा ल्याउँछ कि भन्ने आशा अझै मैले गरेको छु’ रावलले भने ।

Arus

उनले एमाले ओलीको मात्रै नभएको तर्क समेत गरे । ‘पार्टी कसैको निजी वा निजी स्वार्थ पूर्ति गर्ने माध्यम होइन, त्यसो हुनु हुँदैन’, रावलले लिखित धारणापत्रमै लेखेका छन्, ‘त्यसकारण मेरो अगाडि आगामी निर्वाचनमा उम्मेदवार भई विजय हुन स्वतन्त्र उम्मेदवार हुने लगायतका विकल्प भएपनि त्यसतर्फ म अग्रसर नभएको हुँ ।’
तत्काल पार्टीमै रहेपनि परिस्थिति अनुकुल निर्णय लिन भने पछि नपर्ने रावलको संकेत छ । ‘आगामी दिनमा राष्ट्रिय राजनीतिको गति र पार्टीको मति अनुरुप मैले पाइला चाल्ने छु’, उनले लेखेका छन् ।

सबैलाई भोट नमाग्ने

अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक र पार्टी नीति विपरीत कदम चाल्दा त्यसको विरोध गरेकै कारण आफूले टिकट नपाएको रावलले निश्कर्ष निकालेका छन् ।

ओलीले लिएका निर्णयहरुप्रति राखेको विमतिबारे भने रावलले निकै लामो व्याख्या गरेका छन् । आफ्नो विमति सम्झने क्रममा रावलले ओलीमाथि आरोपको चाङ नै लगाएका छन् ।

निष्कर्षमा भने उनले आगामी चुनाव र आफ्नो भूमिकाबारे प्रष्ट्याएका छन् । रावलको प्रष्ट सन्देश छ– आगामी चुनावमा मन परेका उम्मेदवारलाई मात्रै मत माग्छु ।

‘जनताको भावनालाई गम्भीर रूपमा हेरेर निर्णय लिन्छु’, रावल सर्वसम्मत सिफारिस भएको अछाम–१ मा कसलाई भोट माग्ने भन्ने प्रश्नमा जवाफ दिएका थिए । उनले आफ्नो धारणापत्रमै चुनावमा कसलाई मत माग्ने भन्ने प्रष्ट्याएका छन् ।

Karnali Traders

‘आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई पनि देश र जनताको सर्वोपरी हित र स्वाभिमानको रक्षा एवं सम्बद्र्धन गर्ने अवसरको रुपमा सदुपयोग गर्दै सोही अनुरुप उम्मेदवारहरुलाई विजयी तुल्याउन मेरो आग्रह छ’ रावलले लेखेका छन् ।

देशभक्त, जनताको हित र स्वाभिमान विरोधी उम्मेदवारहरुबारे अवधारणापत्रमै उल्लेख गरेकाले एमालेले तय गरेका र समर्थन गरेका सबै उम्मेदवारलाई मत माग्न नसक्ने प्रष्ट पारेका छन् । अन्य दलबाट आएर एमालेको वैधानिक प्रक्रिया पूरा नगरी टिकट पाएकाहरुलाई मत माग्न नसक्ने संकेत दिएका छन् ।

पञ्चायतकालमा एमाले कार्यकर्तालाई प्रताडित गरेको भन्दै कमल थापाको त रावलले खुलेर विरोध जनाए । ‘होली वाइन’ पान गराउने एकनाथ ढकाल र कमल थापा एमाले उम्मेदवार भएकोमा आपत्ति जनाएका उनले जनता समाजवादी पार्टीसँगको तालमेललाई सिद्धान्त विपरीत भनेका छन् ।

‘के यस्तै पार्टी र व्यक्तिहरुलाई प्रश्रय दिएर समाजवाद आउँछ ? जनताको बहुदलीय जनवाद भनेको यही हो र ?’, थापा, ढकाल र जसपाबारे एमालेको निर्णयमा रावलको प्रश्न छ । उनको यस्तो अभिव्यक्ति र अडानले एमाले निर्णय प्रभावित हुने सम्भावना देखिन्छ । तर रावलले पार्टी नीति, सिद्धान्त र देश हितका निम्ति आफू उभिएको तर्क गरेका छन् ।

टिकट नपाउनुको कारण र आगामी कार्ययोजनाबारे धारणा सार्वजनिक गरिरहँदा रावलले आफ्नो राष्ट्रवादी छवि कायमै राख्ने कोशिस समेत गरेका छन् । त्यसका लागि उनले विगत चार वर्षमा आफूले खेलेको भूमिका सम्झिए ।

त्यसका लागि उनले एमसीसी, एसपीपी, होली वाइन प्रकरण, नेपालको नयाँ नक्सा प्रकाशन, नागरिकता विधेयकदेखि भारतीय गुप्तचर संस्था (रअ) का प्रमुखसँग ओलीको भेटवार्तासम्मको प्रसंग उल्लेख गरेका छन् । यी सबै घटनामा ओलीले देश हित, पार्टी नीति र संविधान विपरीत कदम चालेको आरोप लगाएका रावलले आफूले भने त्यस विपरीत अडान लिएको दावी गरेका छन् ।

सँगै, रावलले नेपाल–भारत समस्यामा मनमोहन अधिकारीले लिएको अडान र निर्णयलाई ओलीले बेवास्ता गरेको आरोप लगाएका छन् । कतिसम्म भने भारतीय कलाकारलाई नेपालको समेत खर्चमा सैनिक मञ्चबाट पुरस्कृत गर्ने असफल योजना समेत रावलले सम्झिएका छन् । चर्को विरोध भएपछि उक्त कार्यक्रम त्यसैबेला रद्ध भएको थियो ।

ओली भारतीय तरकारीमा विषादी परीक्षण नगर्न दूतावासको दबावमा समेत परेको सन्दर्भ रावलले उल्लेख गरेका छन् ।

भीमदत्त पन्त र मदन भण्डारीको हत्या देशभक्तिपूर्ण अडानकै कारण भएको निष्कर्ष निकाल्दै रावलले आफ्नो सुरक्षा चिन्तातर्फ समेत ध्यान तानेका छन् । अनलाइन खबर

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.