सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमेलीहरुको महान पर्व “गौरा”को महत्व र इतिहास

256
Sana Kishan

सामान्यतया गौरा पर्वको तयारी भाद्र कृष्ण अमावश्या वा श्रावण शुक्ल पूर्णिमाका दिनदेखि सुरु हुन्छ त्यसो भए तापनि पहिलो दिनमा व्यक्तिगत सरसफाइलाई अधिक महŒव दिइन्छ भने दोस्रो दिनमा घर तथा आँगनको स्वच्छतामा बढी ध्यान दिइन्छ । भाद्रपदको शुक्ल पक्ष वा कृष्ण पक्षको तृतीयाका दिन मैल फाल्नका लागि धुने विभिन्न प्रविधिमा राखिएका लुगाकपडाहरू पखालिन्छ । अर्को दिन गौराको पूजामा अनिवार्य मानिने अक्षता अर्थात् गुराँस, गहत, मास, केराउँ र मकैसमेतको पञ्चान्नलाई केलाउने काम हुन्छ । यसलाई बिरुडा भनिन्छ । भाद्र शुक्ल वा कृष्ण पक्षको पञ्चमीका दिन प्राःत स्नानध्यान गरिसकेपछि गाउँभरिका व्रतालु महिलाहरूले पञ्चान्न भिजाई चोखो तथा सुरक्षित ठाउँमा राख्दछन् । भाद्र शुक्ल वा कृष्ण पक्षको षष्ठी तिथिका प्रातः कालमा पँधेरामा गई बिरुडा पखालेर घर ल्याइन्छ । बिरुडा पखालेको भोलिपल्ट बाट यो पर्व मुख्य रूपमा सुरु हुन्छ । पिर्का शिवजीको प्रतिमूर्ति र सामा सतीजीको प्रतिमूर्ति बनाएर ल्याइएको हुनाले पिर्कालाई महेश्वर अर्थात् महादेव र सामालाई जेठी गौरा अर्थात् जेठी गौरी वा सतीदेवी भनिन्छ । दुलहादुलीरूप शिव–सतीको स्थापनापछि वैदिक विधिविधानका साथ पूजापाठको क्रम सुरु हुन्छ ।

गौराका फागहरूमा पूर्वीय मान्यता अनुरूपको वैदिक सामाजिक परम्परामा पाइने मानवीय गतिविधिको चित्रण मनग्य रूपमा पाइन्छ । त्यसैले होला यी फागहरूको भाव बुझ्ने जतिको हृदय मन्त्रमुध बनेको भान हुन्छ । जेठी गौरा र महेश्वरलाई भिœयाएदेखि पूजा सुरु हुने अवधिसम्म सबै व्रतालुहरू पूजा गरिने घरमा जम्मा हुन्छन् । दिनभरि व्रत बसेर रातिमात्र खाना खाने यस दिनका व्रतालूहरू भोजनोपरान्त फेरि गौरा राखिएको घरमा भेला हुन्छन् ।

Arus

उगाण उगाण इजू रुपाइका दुवार
उगाण उगाण इजू सुनैका केवाड
गावको मजेली इजू बत्ती जगाइदिय
आजको दिन नाच इजु रनझनिया“
इति क्या उजालो भयो रनझनिया“
कि त बाबु लोली गौरा रनझनिया“
तम घर आइन कि हो रनझनिया“
तिर्तियैका दिन इजू विरुडि खोजाया
चौथियैका दिन इजू विरुडि निकेया
पञ्चमीका दिन इजू विरुडि भिजाया
षष्ठीका दिन इजु विरुडि धोएया
सप्तमीका दिन इजू म माइत बोलाय

आरती, अवतारगीत, सृष्टिगीत, सगुन र फागजस्ता गीतहरू गाउँदा पूजनस्थलका एउटा छेउ वा सम्बन्धित देवीदेवताको मूर्ति वा मण्डपमा चारैतिर फिँजिएर बसी अथवा उभिई सामूहिक रूपको स्वरलहरी फिँजाइन्छ । यस प्रकारका गीतमा नृत्यचाहिँ हुँदैन । धमारी, चैत, भोलाउलो प्रायः पुरुष समूहले गाउने गीत हो ।

Karnali Traders

अर्को दिन अर्थात् भाद्र शुक्ल वा कृष्ण अष्टमीका दिन बिहान स्नानध्यान गरी, घर आँगनको सफाइ, दैलोको लिपपोत र द्वारपूजन समाप्त गरेपछि गौरा महेश्वरको प्रातकालीन पूजा व्रतालुहरूद्वारा संयुक्तरूपमा गरिन्छ । फरक के देखिन्छ भने हिजोको सामालाई जेठी गौरा वा लोली गौरा भनिएको थियो आजको सामालाई कान्छी गौरा वा सन्जा गौरा अर्थात् कान्छी गौरा भनिन्छ.। आजकी गौरा ल्याउनु भनेको जेठी पत्नीको कुरा र व्यवहार नरुचाएर भगवान् शङ्करले मलयागिरि पर्वतबाट कान्छी पत्नी बिहे गरेर ल्याउनु हो । जेठी गौराको मेख मार्न अर्को बिहे गरेर घर फर्केका महेश्वर सुरुवाल भिजिसक्दा र छाता फाटिसक्दा पनि ढोका नखोलिएकोमा रिसाएर काम नचल्ने तथा दुलहा भएका बेला रिसाउनु कराउनु उचित नहुने देखेपछि बाहिरबाटै जेठी गौरालाई दुःख नदिने, पटरानीको पदमै राख्ने, माया गर्ने, राजपाटको जिम्मेवारी दिने, दरवारका साँचाताल्चा उनीबाट नखोस्ने, धनसम्पत्तिको जिम्मा दिने, हर्ताकर्ताको प्रमुख बनाउनेजस्ता आश्वासन दिन्छन् र सोका लागि वाचाबद्ध पनि हुन्छन् । त्यसपछि दुवै गौराको सामा एउटैमा मिसाइन्छ । यस बखत पनि एउटा छुट्टै फाग गाइन्छ । जेठी र कान्छी गौरालाई मिलाएर एउटै गौरा पारिसकेपछि पूजाको क्रम सुरु हुन्छ । सती र पार्वती शारीरिक दृष्टिले भिन्नभिन्न भए पनि आत्मिक हिसाबले एकै हुन् भन्ने अर्थ एउटै गौरा बनाउने यस चलनले प्रकट गर्दछ । गौरापूजाका लागि विवाहो परान्त नारीहरूले सुन्नुपर्ने र दिनहुँ साँझबिहान जप्नुपर्ने मन्त्र विधिवत् गुरुस्थापना गरी यसै पर्वमा वा कुनै शुभ दिनमा सुनिसकेको हुनुपर्दछ । प्रायः यसै पर्वका अवसरमा सासू, जेठानी, आमाजू, फुपू सासू जस्ता मान्य व्यक्तिबाट उक्त मन्त्र सुन्ने गरेको देखिन्छ ।

यस्तै दुबोधागोको चलन यस पर्वमा देखिने अर्को रोचक कुरा के हो भने रक्षा बन्धनका दिन बाहुन क्षेत्रिय पुरुषले नयाँ जनै फेरेझैं“ यस पर्वका अन्तमा व्रत गर्ने नारीहरू घाँटीमा बाँध्ने धागो फेर्दछन् । यसलाई दुबोधागो भनिन्छ । रातो, पहेँलो र कालो धागोबाट बनाइएको यो सामान्यतया पोते जस्तै देखिन्छ । गौरीमहेश्वरको पूजा गर्ने बाहुन र क्षेत्रियका विवाहिता र सधवा नारीहरूका लागि सुरु हुने यो पर्व केवल तिनीहरूमै सीमित हुँदैन । नाचगान र खुसीउमङ्गद्वारा प्रफुल्लित तुल्याउन यस पर्वले सबै जातका महिला, पुरुष तथा केटाकेटीहरूलाई बराबर रूपमा समेटेको हुन्छ । व्रत र पूजाआजा बाहुन तथा ठकुरीका विवाहित सधवाहरूले मात्र गरे पनि महिलाहरूको समूहमा गौरा राखिएको घरका आँगनमा राति गाइने गीतहरू सबै जातका नारीहरूको सहभागितामा गाइन्छन् ।

गौरा पर्वको विस्तार यहाँ दसैँभन्दा पनि बढी उल्लास र उमङ्गका साथ यो चाड मनाइन्छ । केही हदसम्म नयाँ लुगाकपडा किन्नु परे पनि अन्य पर्वहरूको जस्तो रिनदान गरेर विशेष खानपानको व्यवस्था गर्नुपर्ने अवस्था यस अवसरमा आउँदैन । सामान्य दिनहरूको जस्तो खाना खाएर पनि ठूलाठूला पर्वहरूको भन्दा बढी मनोरञ्जन दिने यस अवसरले यहाँको जिन्दगीमा नयाँ किसिमको शक्तिसञ्चार गर्दछ । अठ्वाली आठौं“ पर्वको गीत वा अष्टाध्यायी गीत अथवा आठवटा भेद भएको गीतका अर्थमा यसलाई अठ्वाली भन्नु सम्भव देखिए पनि यसको गायनपरम्परा, गायनअवसर र प्रयोग हेर्दा आठौं“ पर्वको गीत भएका कारण अठ्वाली नाम राखिएको कुरा बढी समीचीन लाग्दछ, किनभने यसमा आठभन्दा बढी विश्राम वा खण्ड भएको र आठवटा भन्दा ज्यादा भेद पाइने कुरा निर्विवाद छ ।

गौरा विसर्जन कार्य, विसर्जन गरिने दिशा, बारलगायतका साइँत जुराई गरिने हुँदा सबै ठाउँका गौरा विसर्जन एउटै मितिमा नहुन सक्दछन् । अगस्ति अस्त भएपछि गौरा विसर्जन गर्नु हुँदैन भन्ने मान्यता रहिआएको छ । भाद्र १९ गतेभित्र गौरा विसर्जन गरिसक्नुपर्ने प्रावधान छ । श्रावणशुक्ल, भाद्रकृष्ण र भाद्रशुक्लमा पनि गौरा पर्व पर्न सक्छ । भाद्रशुक्लमा गौरा पर्दा माथिको अवस्था आउँछ । सामान्यतया विसर्जनकार्यमा रमाइलो होस् भन्ने भावनाले पालैपालो गौरा सेलाउने गरिन्छ । हाँसखेल हुँदाहुँदै पनि गौरा विसर्जन गर्नुपर्दा छोरी घर पठाएका दिनजस्तो अँध्यारो हुनु स्वाभाविक हो । यस अवसरमा गाइने फागले पनि यस्तै भाव पोखेको पाइन्छ ।
आजको दिन नाच इजु रनझनिया“
इति क्या अनारो भयो रनझनिया“
कि त बाबु लोली गौरा रनझनिया“
तम घर जान लाग्या रनझनिया“
गौरा सेलाएपछि त्यसमा लगाइएका लुगा र गहनाहरू फुकालिन्छ । यस बखत पनि बिदाइ गर्दा जेजे चाहिन्छ लैजा भन्ने आमाले अहिले अरू त परै जाओस्, आङमा लगाइएका लत्ताकपडा पनि खोसिन् भन्ने आशयको हृदयस्पर्शी फाग गाइन्छ । गौरा पर्व पनि स्थान अनुसारका केही चलनहरू रहेका छन । डडेल्धुरामा यसको फरक विशेषता छ भने दार्चुला, बैतडीमा यसको फरक विशेषता रहेको छ । प्रचलन अनुसार चतुर्थवर्गले पूजा गरिने यिनी एकमात्र गौरा रहेकी छन् । जसको आफ्नो छुट्टै किंवदन्ती छ । यहाँ पनि ठूलो मेला लाग्दछ । त्यसैगरी डडेल्धुरामा देवलदिव्यपुरस्थित निनाली गाउँमा गौरालाई २२ दिन चैत–धमारी खेलेपछि विसर्जन गर्ने परम्परा छ । यसको समापनका दिन त्यसक्षेत्रमा रहेका सबै गाउँहरूबाट नौमति बाजागाजासहित जम्मा भई देउडाइँ, धम्यौलाइँ गर्ने हुँदा ठूलो मेला लाग्दछ । त्यसैगरी डडेल्धुराको भद्रपुर वनलेक, बगरकोट गोलाई र रुपालमा पनि गौरा पर्व भव्य रुपमा विसर्जन हुन्छ । गौरा विसर्जनसँगै डडेल्धुरा जिल्लाको प्रसिद्ध योगिनी (जोगेनी) जाँतको मिति तोक्ने कार्य पनि त्यहाँका देवताका धामीबाट हुन्छ ।

केही वर्षयता कैलाली जिल्लाका वनदेवी, नयनादेवी, शिवमन्दिर, गोदावरी, बोराडाँडी, मटियारी र कञ्चनपुरका विभिन्न मठ मन्दिर तथा घर आगन, बैतडी–दार्चुला–डडेल्धुराका बस्तीबहुलक्षेत्रहरूमा धूमधामसित गौरा विसर्जन गरिन्छ । यस्तै दार्चुलाको मालिकार्जुन, बन्तोली, जैपुर, कुणी, धापमा पनि विशेष महत्वका साथ मनाउने गर्दछन । काठमाण्डौको टुडिखेलमा पनि गौरा पर्वलाई सुदुरपश्चिमकै सस्कृति भेषभुषा अनुसार मनाईने गर्दछ । सुदुर पश्चिम तथा मध्यपश्चिमका विभिन्न जिल्लाबाट राजधानीमा जागिर वा पढाईको सिलसिलामा आएका विभिन्न व्यक्तित्वहरु जम्मा भएर गौरा पर्व मनाउने गर्दछन । गौराको दिन टुडिखेलमा आ–आफन्त सँग भेट गर्ने रमाईलो दिनका रुपमा पनि लिने गर्दछन । रामदत्त मिश्रले उपहार खबरमा लेखेका छन्।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.