काठमाण्डौ – तनहुँको बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि चितुवा नियन्त्रणका लागि खोर राखिएको छ।
अस्ति राति र हिजो बिहान चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि डिभिजन वन कार्यालय तनहुँको सहयोगमा बन्दीपुर–१ बाघदलेमा फलामे खोर राखिएको हो।
बन्दीपुर गाउँपालिका–४ टावरमा चितुवाको आक्रमणबाट आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बागदलेमा भिमलाल गरञ्जा घाइते हुनुभएको छ । उहाँहरुलाई घरमै चितुवाले आक्रमण गरेको हो।
दुवै घाइतेको डुम्रेमा रहेको मोती मेडिकलमा उपचार गरिएको र अवस्था खतरामुक्त रहेको छ । चितुवाको त्रास बढेपछि नियन्त्रणका लागि बाख्रासहितको खोर थापिएको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो।
यस्तै, चितुवाले फेरि आक्रमण गर्न सक्ने भन्दै त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।
(Source : ujyaaloonline.com)









Discussion about this post