
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषि उपजको बजारीकरणका लागि एकीकृत कृषि बजार निर्माण गरिरहेको छ । नगरपालिकाले कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरसँगको सहयोगमा बजारका लागि आवश्यक संरचना निर्माण गरिरहेको हो । नगरपालिकाका इन्जिनियर जयराज भट्टले एकीकृत कृषि बजारका लागि एक सय ५० सटर निर्माणाधीन अवस्थामा रहेको बताए ।
उनका अनुसार नगरपालिकाले एक सय सटर कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरसँगको सहकार्यमा र अन्य सटर पालिकाको आफ्नै श्रोतबाट निर्माण भइरहेका छन् ।

भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको खुल्ला मञ्च नजिकै निर्माण भइरहेको एकीकृत कृषि बजारको संरचना निर्माणका लागि दुई वटा योजनाको छुट्टाछुट्टै ठेक्का सम्झौता गरिएको छ ।

५० सटरका लागि एमडी कष्ट्रसनसँग एक करोड ५० लाखमा ठेक्का सम्झौता गरिएको छ भने एक सय सटर निर्माणका लागि एमके÷नीरज जे.भी. सँग तीन करोड ९६ लाखमा निर्माण सम्झौता गरिएको छ । दुवै योजनाको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको इन्जिनियर भट्टको भनाइ छ । योजनाको काम २०८० जेठमा सक्ने लक्ष्य लिइएको छ ।
नगरपालिकाले कृषि उपजको बजारीकरणका लागि उक्त संरचना निर्माण गर्न लागेको हो । भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र बिष्टले कृषि उत्पादनको बजारीकरणका लागि संरचना निर्माण गरिन लागिएको बताए ।
उनका अनुसार संरचना निर्माण भएमा सबै किसिमका कृषि उत्पादनलाई एकीकृत गरी बजार व्यवस्थापन गरिने छ । नगरपालिकाले कृषि उत्पादनलाई बढाउन एक वडा; एक उत्पादन, पकेट क्षेत्र कार्यक्रम, कृषि अनुदान, सहकारी क्षेत्रसँग सहकार्य लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । त्यस्तै बजार निर्माण भएपछि यसबाट नगरपालिकाको आन्तरिक श्रोतमा पनि वृद्धि हुने नगरपालिकाले अपेक्षा लिएको छ । नेपाल बोध बाट सभार
