

बैतडी –जिल्लाको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा सन्तोष प्रकाश जोशीले स्वतन्त्रबाट उम्मेद्वारी दिने भएका छन् ।आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालले अध्यक्ष पदका लागि उनको नाम सिफारिश नगरेपछि स्वतन्त्रबाट उम्मेद्वारी दिने तयारी गरेका हुन् ।
यही चैत २७ गते धामीगाउँमा कार्यक्रमको आयोजना गरेर अध्यक्ष पदको उम्मेद्वारी घोषणा गर्ने जोशीले बताए । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघका केन्द्रिय सचिव तथा सुदूरपश्चिम अध्यक्ष जोशीले आफूले स्वतन्त्रबाट उम्मेद्वारी दिने तयारी गरेको बताए । पार्टीका सबै पदबाट राजीनामा गरेर उम्मेद्वारी दिने उनले तयारी गरेका हुन् । उनले भने ‘आम नेता कार्यकर्ताहरु मेरो पक्षमा रहेका बेला समेत माइन्युट गायब गरेर नाम सिफारिश नगरेपछि यो निर्णयमा पुगेको हुँ । मेरो उम्मेद्वारी घोषणा हुन्छ ।

यस्तै उनले आफ्नो टीमका वडा अध्यक्षहरुको उम्मेद्वारी चैत २९ मा घोषणा गर्ने र त्यसपछि सदस्यहरुको पनि उम्मेद्वारी घोषणा गर्ने तयारी भएको बताए ।


िएमाले डिलाशैनी गाउँकमिटिले अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष उकेन्द्र बोहरा, गाउँपालिका प्रवक्ता अक्कल राना र प्रेमराज भट्टको नाम सिफारिश गरेको छ । गाउँपालिका कमिटिको बैठक बसेका बेला माइन्युट गायब गरेर आफ्नो नाम षडयन्त्रपूर्वक हटाएको जोशीले आरोप लगाए ।
पार्टी आम कार्यकर्ता र जनभावना विपरीत एमाले डिलाशैनीले निषेधको राजनीति गरेकाले आफूहरुले स्वतन्त्र उम्मेद्वारी दिने तयारी पुगेको जोशी पक्षले बताएको छ ।
(Source : sagunkhabar.com)
