बैतडी–माघ १७, बझाङको बित्थडमा अन्तरजिल्ला समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
बैतडी र बझाङका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी नायव उपरीक्षक र नेपाली सेनाका सेनानी सहभागी बैठकले दुवै जिल्लामा मिलेर शान्ति सुरक्षा कायम गर्ने बिषयमा निर्णय गरेको छ ।
दुवै जिल्लाका सीमामा हुन सक्ने अपराधिक क्रियाकलाप रोक्ने, सीमानामा शान्ति सुरक्षा कायम गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्ने लगायतका बिषयमा छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।
बझाङ बैतडीसंग सीमाना जोडिएको जिल्ला भएकाले दुवै जिल्लाका सुरक्षा निकायका बीच समन्वयात्मक बैठक सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

समाजमा हुने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्नका लागि दुवै जिल्लाले समन्वय गरेर काम गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।
समन्वयात्मक बैठकपछि दुवै जिल्लाका सीमा क्षेत्रमा हुन सक्ने गैरकानुनी क्रियाकलाप रोक्नका लागि मद्दत मिल्ने विश्वास गरिएको छ ।

बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, नेपाली सेनाको हनुमानध्वज गुल्मका गुल्मपती, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी, सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाह, बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी लगायतका बझाङका सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
(रेडियो बैतडी बाट साभार)
