सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रोकिएन प्रहरी-अनुसन्धानमा जालझेल: ‘ज्यान लिने चालकलाई उम्काउन नक्कलीलाई मुद्दा’

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा नक्कली अभियुक्त खडा गरी मुद्दा प्रक्रिया अघि बढाएपछि प्रहरी विवादमा फस्यो । सोही कारण केही प्रहरीविरुद्ध फौजदारी मुद्दा नै दायर भयो । तर, त्यो घटनापछि पनि प्रहरी अनुसन्धानमा जालझेल रोकिएको छैन । सवारी दुर्घटनामा प्रहरीले नक्कली अभियुक्त खडा गरेर वास्तविक दोषीलाई जोगाउँदै आएको खुलेको छ ।

सवारी ज्यान मुद्दामै जालझेल गरेको आरोपमा इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्स्पेक्टर लोकराज जिसी अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा छन् । १० लाख रुपैयाँ घुस लिएर नक्कली चालक खडा गरी मुद्दा चलाएको पुष्टि भएपछि अख्तियारले उनलाई २१ जेठमा पक्राउ गरेको हो ।

११ वैशाखमा गैंडाकोटमा भएको दुर्घटनामा उनले वास्तविक दोषीलाई उन्मुक्ति दिएका हुन् । चितवनका व्यवसायी बोधराज पाण्डेले चलाएको जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको थियो भने अर्को एक गम्भीर घाइते भएका थिए । चालक पाण्डेलाई जोगाउन त्यतिवेला किसुन चौधरीले गाडी चलाएको नक्कली मुचुल्का बनाएर मुद्दा चलाइएको थियो । यसबापत जिसीले १० लाख घुस लिएको उजुरी अख्तियारमा परेको थियो ।

World Link Ads
Mahakali Polytechnic

‘प्रारम्भिक अनुसन्धानमै नक्कली चालक खडा गरेको पुष्टि भएपछि पक्राउ गरेका हौँ,’ अख्तियारका एक अधिकारी भन्छन्, ‘यसमा अन्य प्रहरीको समेत संलग्नता खोजी गरिरहेका छौँ ।’ स्रोतका अनुसार जिल्लाका तत्कालीन एसपी रमेश थापाको समेत मिलेमतोमा त्यसरी नक्कली चालक खडा गरी मुद्दा चलाइएको आधार भेटिएको छ ।

Dirghayu Ads

इन्स्पेक्टरसँगै व्यवसायी पाण्डे र नक्कली चालक चौधरीलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ । अन्य प्रहरीको संलग्नताबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । दुर्घटनाको मुचुल्कादेखि अभियोजनसम्मको चलखेलमा धेरै प्रहरी संलग्न रहेको स्रोत बताउँछ । दुर्घटनाकै दिन इलाका प्रहरी कार्यालयले चालक बोधराज पाण्डेलाई पक्राउ गरिएको रिपोर्टिङ बेलुका जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व)मा गरेको थियो । तर, तीन सातापछि भने किसुन चौधरीविरुद्ध मुद्दा दायर भएको थियो ।

सक्कली चालकका भाइ मध्यस्थकर्ता

Sana Kishan

दुर्घटनाका दोषी व्यवसायी पाण्डेका भाइ शालिकरामले प्रहरीसँग मध्यस्थकर्ताको काम गरेका थिए । उनी हाल फरार छन् । उनले नै नक्कली चालकको नाम इन्स्पेक्टर जिसीलाई एसएमएसमार्फत पठाएका थिए । दुर्घटनाका वेला चालक चौधरी घटनास्थलमा नदेखिएको मोबाइल लोकेसनबाट समेत प्रस्ट भएको छ । इन्स्पेक्टरलगायत प्रहरीले आर्थिक लेनदेन गरेको प्रमाणको खोजीमा अख्तियार लागेको छ । नियोजित रूपमा वास्तविक अभियुक्तलाई जोगाउने प्रयास गरेकाले इन्स्पेक्टरलगायत प्रहरीविरुद्ध फौजदारी कसुरसमेत लाग्ने भएको छ ।

विगतमा पनि जालझेल

१७ चैत ०७३ मा तिलोत्तमा नगरपालिका–७ मा दुर्घटना भएको थियो । लु.७प ७८६४ नम्बरको मोटरसाइकलको ठक्करबाट गुरुप्रसाद आलेको मृत्यु भएको थियो । मोटरसाइकलचालक दुर्गा केसी थिए । चालक केसीको सवारीचालक अनुमतिपत्र(लाइसेन्स) थिएन । लाइसेन्स नभई सवारी चलाएर दुर्घटना गराउँदा कडा सजाय हुने प्रावधान छ । त्यसकारण नक्कली चालकको रूपमा मिथुन भण्डारीलाई खडा गरेर उनीविरुद्ध मुद्दा चलाइएको थियो ।

घटनाको उजुरी परेपछि प्रहरीबाट आन्तरिक छानबिन भएको थियो । छानबिनमा नक्कली चालक खडा गरिएको पुष्टि भएको थियो । इप्रका बुटवलका तत्कालीन डिएसपी मुुकुन्द मरासिनी, इन्स्पेक्टर भीमलाल भट्टराई र मुद्दा शाखाका प्रहरीलाई कारबाहीको सिफारिस भएको थियो । तर, उनीहरूलाई प्रहरी नेतृत्वले कारबाही गरेन । कारबाहीको फाइल लुकाएर बरु उनलाई विभूषण दिइएको थियो । हाल एसपी भएका मरासिनी सिन्धुपाल्चोकको प्रहरी प्रमुख छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले बनाएको दुर्घटनास्थलको मुचुल्का र मुद्दा दायर गर्दाको विवरण नै फरक परेको थियो । आर्थिक चलखेलका आधारमा चालक नै परिवर्तन गरिएको थियो ।

खस्कँदै निरीक्षण प्रणाली

मुद्दामा हुने जालझेल र कमजोरीको अनुगमन तथा निर्देशनका लागि प्रहरी प्रधान कार्यालयमा कार्य तथा अपराध अनुसन्धान विभाग छ । तर, अहिले यो विभाग नेतृत्वविहीन छ । नेतृत्व हुँदा पनि विभागले आकस्मिक निरीक्षणहरू गरेको छैन । त्यस्तै, प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी इकाइको काम पनि मातहतका कार्यालयमा हुने गतिविधिको अनुगमन र निरीक्षण गर्ने नै हो । तर, ती कार्यालयहरूलाई सक्रिय बनाउन नसक्दा प्रहरीमा बेथिति हुने गरेको छ । प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल भने प्रहरी प्रधान कार्यालयलगायत विभिन्न निकायबाट अनुगमन भइरहेको बताउँछन् ।-नयाँ पत्रिकाबाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.