सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कमला नदी दोहन: मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर

सिरहा – अव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ। जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो। धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुलमखुला एक्साभेटर र डोजर लगाई दोहन तीव्र पारेको हो।

नदीवरपर सञ्चालित ढुंगारोडा उद्योगले नगरपालिका, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनसँग गोप्य छलफल गरी कमला नदीमा एक्साभेटरमार्फत उत्खनन तीव्र बनाएका हुन्। जिल्ला समन्वय समिति धनुषाले २०७५ फागुन ३० मा गणेशमान चारनाथ नगरपालिकालाई पठाएको पत्रमा उल्लेख छ, ‘यस नगरपालिकाबाट २०७५ माघ ८ गते (च.नं. ७७२) प्राप्त पत्रमा कमला नदीको बीचभागमा पानीको बहाव फर्काउन जेसिबी (एक्साभेटर) प्रयोगका लागि माग भएको जानकारी प्राप्त भयो। कमला नदीको पुलका पिलर बिग्रिने अवस्थामा पुगेको नगरपालिकाले पठाएको पत्रमा उल्लेख रहेकाले नगरपालिकाका प्रतिनिधिको रोहबरमा सर्वप्रथम पिलरमा माटो हाली मापदण्डभित्र रही कमला नदीको बीच भागमा पानीको बहाव फर्काउन जेसिबी (एक्साभेटर) प्रयोग गरी बालुवा उत्खनन गर्नू।’ पत्रमा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवले हस्ताक्षर गरेका छन्।

समन्वय समितिको यसै पत्रलाई आधार बनाएर गणेशमान चारनाथ नगरपालिकाले कमला नदीमा एक्साभेटर र लोडरमार्फत उत्खनन गर्न छुट दिएको हो। नगर प्रमुख रामबाबु यादवले कमलामा भइरहेको दोहन जनहितमा भएको दाबी गरे। उनले नागरिकसँग भने, ‘नियम कमला नदीमा मात्र लाग्ने हो कि अन्य नदीखोलामा पनि लाग्छ ? महोत्तरीको रातु नदीमा दर्जनौं एक्साभेटर र लोडरले उत्खनन गर्दा गैरकानुनी नठहरिने तर कमलामा दुईचारवटा एक्साभेटरले उत्खनन गर्दा हंगामा हुने ?’

World Link Ads
Mahakali Polytechnic

नदी दोहनमा गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु साहले टिपर र वडा नम्बर २ का अध्यक्ष गणेशकुमार सिंहले एक्साभेटर सञ्चालन गरेको पाइएको छ।
उत्खनन भइरहेको स्थान नगरपालिकाको वडानम्बर ८ मा पर्छ। सो वडाका वडाध्यक्ष गणेशकुमार सिंहका अनुसार कमलामा एक्साभेटर प्रवेश रोक्न गरेको प्रयास सफल भएन। जति गरे पनि नसकपछि चुप लागेर बसेको सिंहले बताए।

Dirghayu Ads

यो नदीमा पहिलो पटक एक्साभेटरले नदीजन्य पदार्थ खनेको देख्ने प्रशस्त छन्। त्यसैमध्येका एक हुन् दोरिक पासवान। उनी भन्छन्, ‘प्रहरी, प्रशासन र जनप्रतिनिधिकै मिलेमतोमा ढुंगा, गिटी, बालुवा उत्खनन तीव्र बनेको छ। मान्छेले निश्चिम परिणाममा गिटी बालुवा निकाल्नुपर्नेमा नदीको बीचभागमा डोजर पु‍¥याएर दिनरात अनियन्त्रित दोहन भइरहेको छ।’ सरकारी मिलेमतोमा मात्रै यसरी दोहन सम्भव हुने उनले बताए। एक्साभेटर लगाएर नदी खन्न थालिएपछि किनाराका किनाराका बस्ती र जलचरसमेत संकटमा परेका छन्।

गणेशमान चारनाथ नगरपालिकाले केही दिनअघि कमलाको बहाव परिवर्तन गर्न, नदीको पुल सपार्न भन्दै एक्साभेटर प्रयोग गर्न दिन जिल्ला समन्वय समितिलाई दबाब बढाएको थियो। सिरहा र धनुषाको सीमा नदी भएकाले दुवै जिल्लाका समन्वय समिति, सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीबाट संयुक्त अनुगमन गराइयो। त्यसपछि जिल्ला समन्वय समिति धनुषाले गणेशमान चारनाथ नगरपालिकाको मागअनुसार कमदामा एक्साभेटरमार्फत उत्खननका लागि अनुमति दियो।

समन्वय समितिले नगरपालिकाको मागको अवस्था, गाउँबस्ती प्रभावित भए÷नभएको, नदीजन्य पदार्थको अवस्था, निकाल्न मिल्ने÷नमिल्ने विषयमा अध्ययन, कहाँबाट कति, कसरी निकाल्नेबारे अध्ययन गरेको पाइँदैन। उत्खनन भइरहेको स्थानमा कहींकतै उत्खनन स्थल भनेर लेखेको पाइँदैन। उत्खननमा नगरपालिकाका पदाधिकारी अनुगमन पनि भएको छैन।

उत्खनन क्षेत्र, परिमाणलगायतका आधारभूत मापदण्ड पूरा नगरी अनियन्त्रित रुपमा एक महिनादेखि दिनरात एक्साभेटरले कमला नदीबाट नदीजन्य पदार्थ उत्खनन भइरहेको छ। उत्खनन गरिएका नदीजन्य पदार्थ कमलाको पश्चिमी किनारमा टाँसिएर सञ्चालित चारवटा र पूर्वी किनारमा टाँसिएर सञ्चालित दुईवटा ढुंगा रोडा उद्योगमा आपूर्ति भइरहेको छ।

Sana Kishan

स्थानीय भागवत महतोका अनुसार अध्ययन गरेझैं गरेर क्रसर व्यवसायीको धन्दा चलाउन नदीमा डोजर चलाइएको हो। यो जनतामारा काम मेयरकै संरक्षणमा भइरहेको उनको आरोप छ।कर्जन्हा नगरपालिका २ मा पर्ने कमला खण्डको पूर्वी किनारमा पनि एक्साभेटरमार्फत दिनरात दोहन भइरहेको छ। जिल्ला समन्वय समिति धनुषाले नदीमा एक्साभेटर, डोजर प्रयोग गर्न दिएको अनुमतिको आडमा अनियन्त्रित रुपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको स्थानीय प्रकाश कोइरालाले बताए। चुरे तथा जलाधार संरक्षण अभियन्ता कोइरालाले भने, ‘सुक्खा र खानेपानी समस्या झेल्दै आएका यस भेगका जनता अझ पिरोलिने गरी कमलामा दोहन तीव्र पारिएको छ।

नदी दोहनमा गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु साहले टिपर र वडा नम्बर २ का अध्यक्ष गणेशकुमार सिंहले एक्साभेटर सञ्चालन गरेको पाइएको छ। २ नं. प्रदेशसभाको प्राकृतिक स्रोत तथा वातावरण समितिका पदाधिकारीसमक्ष टिपर र एक्साभेटर चालकले यो तथ्य खुलाएका हुन्। समितिले दोहन क्षेत्रमा बुधबार बिहान अनुगमन गरेको छ।

मेयर यादवले तीनवटा अनटेस्ट आइवा टिपर आफैं सञ्चालन गरेको र दुईवटा ६ चक्के टिपर भाडामा सञ्चालन गरेको एक टिपर चालकले अनुगमन टोलीलाई बताए। यस्तै वडा नम्बर २ का अध्यक्ष सिंहले कमलानदी दोहनमा एक्साभेटर सञ्चालन गरेका छन्। एक एक्साभेटर चालकले यो तथ्य खुलाएका हुन्।

वडाध्यक्ष सिंहले नागरिकसँग फोनमा भने, ‘कमला नदीमा मेरो एक्साभेटर प्रयोग भएको हो तर मैले गरेको होइन। म आज (बुधबार) दिउँसो १२ बजेमात्र घर फर्केको हुँ। कसैले भाडामा लगेर चलाएको छ।’ मेयर यादवले भने, ‘कमला नदीमा एक्साभेटरमार्फत उत्खनन गरिएका पदार्थ ढुवानीमा प्रयोग भएको हाइवा टिपर मेरो होइन, साथीको हो।’ उनले प्राकृतिक स्रोत तथा वातावरण समितिले गरेको अनुगमनप्रति असन्तुष्टि जाहेर गरे। उनले भने, ‘अरु ठाउँको खोलानदीमा बकाइदा एक्साभेटरमार्फत नदीजन्य पदार्थ निकाल्दा कोही बोल्दैनन्। यहाँ सबै हंगामा मात्र गर्छन्। जिल्ला समन्वय समिति, सिडिओ, एसपी सबैले हेरेर दिएको अनुमतिअनुरुपको काम गर्दा पनि हंगामा मच्चिँदोरहेछ।’

समितिका सभापति रामचन्द्र मण्डलसहितको टोलीले बुधबार बिहान दोहन क्षेत्रमा स्थलगत अनुगमन गरी उत्खननमा संलग्न एक्साभेटर, टिपर नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको थियो। अनुगमनमा संलग्न समितिका सदस्य विदेश्वर यादवले भने, ‘गैरकानुनी रुपमा यन्त्र (एक्साभेटर, डोजर) प्रयोग गरी खोलानदी दोहन तीव्र्र पारेको पाइएको छ।’ प्रदेश २ का आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई यन्त्रमार्फत हुने अवैध उत्खनन रोक्न समितिले बिहीबार पत्राचार गर्ने यादवले बताए। समितिले महोत्तरीको रातु खोलाबाट १० थान एक्साभेटर, डोजर र टिपर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको उनले जानकारी दिए।

समितिका सदस्य कमलामा पुग्दा एक्साभेटर र टिपर नदीमै छोडेर चालकहरु भागाभाग भएका थिए। स्थानीयले घेरा हालेर चालकलाई फर्काएका थिए। त्यसपछि समितिका पदाधिकारीले दोहन क्षेत्र निरीक्षण गर्नुका साथै चालक र स्थानीयसँग जानकारी लिएर थिए। एक्साभेटरमार्फत दोहनका कारण नदीको रुपै बिग्रेको छ। नदीभित्र सहायक खोला बनेका छन्। बहाव क्षेत्रभरि ठूल्ठूला पोखरीजस्ता खाल्डा बनेका छन्।कमला बचाऊ अभियन्ता जयकुमार पासवानका अनुसार नदी दोहन नरोकिए यस भेगका जनताले विद्रोह गर्नेछन्। पटकपटक एक्साभेटर रोक्न जाँदा प्रहरी लगाएर जनतालाई नियन्त्रण गर्दै आएको उनले बताए। ‘हामीले अरुथोक रोकेकै होइन, एक्साभेटर लगाए नदी खन्ने गैरकानुनी काम रोक्न खोजेका हौं’, उनले प्रस्ट पारे। प्रदेश सरकार र संसदीय समितिले पनि नरोके जनताले विद्रोहै गरेर भए पनि ज्यानमारा काम रोक्ने उनको भनाइ छ।
याे खबर नागिरक दैनिकले छापेकाे छ ।
नदी_दोहन

मेयरको_टिपर

एक्साभेटर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.