सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेकपामा निर्णायक बन्दै थापा

जता लाग्यो उतै पल्लाभारी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गृहमन्त्री रामबहादुर थापाको अवस्था बलियो बन्दै गएको छ। एकता प्रक्रिया टुंगिन लाग्दा पार्टीभित्र थापा समूह निर्णायक अवस्थामा देखिएको छ। पार्टीभित्र केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका गुटमध्ये थापाको गुट निर्णायक बनेको छ। पार्टीमा थापा समूहका एक सचिवालय सदस्य, दुई स्थायी कमिटी सदस्यसहित ३७ केन्द्रीय सदस्य छन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदादेखि नै थापाले आफ्नो समूहलाई बलियो बनाउँदै ल्याएका छन्।

जनवर्गीय संगठनबीचको एकतामा पनि थापा समूहको अवस्था बलियो देखिएको छ। प्रदेशमा पनि सचिव र केही जिल्लामा अध्यक्षसमेत आफ्नो पक्षमा पार्न यो समूह सफल भएको छ। एकीकरण कार्यदलमा रहेका थापाले अधिकांश स्थानमा आफू पक्षधर नेतालाई स्थापित गर्न सफल भएका छन्। पूर्वमाओवादीको भागमा परेका सातवटा जनवर्गीय संगठनमध्ये चारवटाको नेतृत्व थापा पक्षले पाएको छ। पूर्वमाओवादीले नै पाएको मधेसी संगठनको नेतृत्व भने चयन हुन बाँकी छ। जिल्लातर्फ ७ जना अध्यक्ष र ९ जना सचिव थापा समूहले पाएको छ। जिल्ला समितिका सदस्यमा पनि थापा समूहको बलियो उपस्थिति देखिएको छ। यो हेर्दा गृहमन्त्री थापा पार्टीभित्र क्रमशः बलियो बन्दै आएका छन्। केन्द्रीय कमिटीमा थापा जता लाग्यो उतै पल्लाभारी हुने अवस्था बनेको छ।

पार्टीभित्र ओली, दाहाल र नेपालका गुट स्पष्ट देखिएका छन्। वामदेव गौतम र नारायणकाजी श्रेष्ठको पनि गुटगत उपस्थिति छ। तत्कालीन एमालेभित्र निर्णायक मानिएका गौतम पार्टी एकीकरणपछि भने कमजोर देखिएका छन्। उनको भूमिकामा यतिबेला थापा स्थापित भएका छन्।

World Link Ads
Mahakali Polytechnic

नेकपाको केन्द्रीय समितिमा थापा जता लाग्यो उतै पल्लाभारी हुने अवस्था बनेको छ।
नेकपाको चार सय ४१ सदस्यीय केन्द्रीय समितिमा थापा समूहबाट देवप्रसाद गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, सावित्रीकुमार काफ्ले, सूर्यप्रकाश सुवेदी, श्रीराम ढकाल, सुरेश आलेमगर, अमृता थापामगर, इन्द्र आङबो, इन्द्रजित थारू, कुमारी मोक्तान र डाचाराज वाग्ले छन्। यसैगरी तारा घर्ती, दामा शर्मा, दिलीप महर्जन, नरेश भण्डारी, नारायण शर्मा पौडेल, नेपबहादुर चौधरी, परशुराम रम्तेल, पार्वती थापा, मनोज थापा, महेश्वर दाहाल, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, युवराज भट्टराई, रामदीप आचार्य, लक्ष्मण पन्त, लक्ष्मीदत्त जोशी, लेखनाथ न्यौपाने, हरिबहादुर चुमान, हेमराज शर्मा र ज्ञानु बस्नेत पनि थापा समूहका केन्द्रीय सदस्य हुन्। थापा पक्षधर नेताहरु टेकबहादुर बलम्पाखी मगर, जयपुरी घर्ती, पूर्ण घर्ती, रूपा चौधरी, ज्वालाकुमारी शाह, दामाकुमारी शर्मा, दावा लामा, तिलक परियार, दिलीपकुमार प्रजापति, वीरमान चौधरी, झंकबहादुर मल्ल, महेन्द्र पासवान पनि केन्द्रीय सदस्य छन्। यीमध्ये नारायण शर्मा पौडेल र हितमान शाक्य स्थायी कमिटीमा नपरेको भन्दै असन्तुष्ट भए पनि उनीहरूले थापाको साथ छाडेका छैनन्। थापा समूहका नभए पनि उद्योगमन्त्री रहेका मातृका यादव, केन्द्रीय सदस्यहरू कृष्णध्वज खड्का र रेखा शर्माले पनि थापालाई सहयोग गरिरहेका छन्।

Dirghayu Ads

एकीकरणपछि एकता कार्यदलमा रहेका थापा आफूले भनेबमोजिम सदस्यहरुलाई जिम्मेवारी दिलाउन सफल भएका थिए। थापाले राखेको प्रस्तावमा ओली र दाहालले असहमति नराख्ने भएपछि ७७ वटै जिल्लामा आफूनिकटका नेता–कार्यकर्तालाई जिम्मेवारी दिन उनी सफल भएका हुन्।

Sana Kishan

नेकपाका २८ जना प्रदेश पदाधिकारीमा थापा पक्षका चार नेताले जिम्मेवारी पाएका छन्। प्रदेश १ मा सहइन्चार्ज सावित्रीकुमार काफ्ले, कर्णाली प्रदेश सचिवमा मायाप्रसाद शर्मा, सुदूरपश्चिम प्रदेश सहइन्चार्जमा लक्ष्मीदत्त जोशी र सचिवमा नेपबहादुर चौधरीले जिम्मेवारी पाएका छन्। केन्द्रीय सरकारमा थापा आफैं गृहमन्त्री छन् भने संघीय व्यवस्थापिकामा देव गुरुङलाई प्रमुख सचेतकको जिम्मेवारी दिलाउन सफल भएका छन्।

प्रदेश सरकारअन्तर्गत प्रदेश १ मा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो, प्रदेश ४ मा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, प्रदेश ५ मा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, कर्णाली प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी थापा पक्षकै नेता हुन्। प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्ती पनि थापा पक्षकै हुन्। ‘पार्टीभित्र थापाको उपस्थिति बलियो बन्दै गएको छ। ओली, दाहाल र नेपालपछि उनकै समूह हावी हुने गरेको छ,’ स्थायी कमिटीका एक सदस्यले भने। उनका अनुसार पार्टीको स्थायी कमिटी वा सचिवालयको बैठकमा पनि थापाको धारणा नै निर्णायक हुन थालेको छ।

नागरिक अनलाइरनमा याे खबर छापिएकाे छ ।

#रामबहादुर_थापा

#गृहमन्त्री

#केपी_ओली

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.