सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

४० करोडमा प्रधानमन्त्रीका लागि नयाँ निवास बनाइदैँ

अहिलेको संरचना भत्काएर बालुवाटारमै नयाँ दुई भवन बन्दै, भवनमा डाक्टर कक्ष, डेन्टल कक्ष, सैलुनदेखि होम थिएटरसम्म

प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ ।

सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दै छ । चालू आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ । भवनको आर्किटेक्चर डिजाइन आजु डिजाइन कम्पनीले गरेको छ भने स्ट्रक्चर डिजाइन क्राफ्ट डिजाइन कम्पनीले गरेको छ । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपाली परम्परागत शैलीमा भवन निर्माणको तयारी गरेको बताए । ‘हालको प्रधानमन्त्रीनिवासमा भूकम्पले क्षति पुर्‍याएको तथा क्षेत्रफल पनि साँघुरो भएकाले गत पुसमै मन्त्रिपरिषद् बैठकले नयाँ निवास निर्माण गर्ने निर्णय गरेको थियो,’ मन्त्री राईले भने, ‘मन्त्रिपरिषद्को निर्णयअनुसार विभागले भवन निर्माणको तयारी गरेको छ ।’

दुईवटा भवन निर्माण गरिने

World Link Ads
Mahakali Polytechnic

प्रधानमन्त्रीनिवासका लागि दुईवटा भवन निर्माण गरिनेछ । एउटा भवन प्रधानमन्त्रीको निजी प्रयोजनका लागि र अर्को सार्वजनिक प्रयोजनका लागि निर्माण गर्न लागिएको हो । निजी भवन प्रधानमन्त्रीको व्यक्तिगत प्रयोजनका लागि हुनेछ भने ‘पब्लिक’ भवन राजनीतिक–कूटनीतिक संवाद तथा सर्वसाधारणसँग भेटघाटमा प्रयोग गरिनेछ । निवास दुई चरणमा निर्माण गरिनेछ । निजी भवन निर्माण सकेपछि मात्रै ‘पब्लिक’ भवन निर्माण गरिनेछ ।

Dirghayu Ads

चोक शैलीमा बनाइँदै पब्लिक भवन

प्रधानमन्त्रीनिवासमा बनाइने पब्लिक भवन चोक शैली (कन्ट्रीयार्ड कन्सेप्ट)मा बनाइने भएको छ । करिब हजार स्क्वायर मिटर अर्थात् दुई रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको यो भवनमा नेपाली संस्कृति र परम्परागत शैली झल्किनेछ । भवन तीन तलाको हुनेछ ।

पूर्वतर्फ फर्काएर बनाइने भवनको भुइँतलामा विभिन्न प्रयोजनका लागि १४ युनिट हुनेछन् । भुइँतला विशेषगरी अति विशिष्ट व्यक्तित्वसँगको भेटघाटका लागि छुट्याइनेछ । जहाँ भव्य क्याबिनेट हल हुनेछ । मन्त्रीहरूसँगको भेटघाट यही हलमा हुनेछ । आपत्कालीन समयमा मन्त्रिषरिषद्को बैठकका लागि पनि प्रयोग गर्न सकिनेछ ।

त्यस्तै, ४० जना बसेर खान मिल्ने डाइनिङ हल र एउटा भान्सा निर्माण गरिनेछ । एउटा सञ्चार कोठा बनाइनेछ जहाँ बसेर प्रधानमन्त्रीले मिडिया प्रयोग गर्नेछन् । त्यस्तै, सुरक्षाकर्मीका लागि कन्ट्रोल रुम, गोप्य लाउन्ज, हाउस किपिङ, वेटिङ एरिया, एडिसी कार्यालय र प्रधानमन्त्रीको कार्यकक्ष यही तलामा हुनेछ ।

पहिलो तलामा विभिन्न प्रयोजनका लागि नौ युनिट बनाइनेछ । यो तला विशेषगरी सार्वसाधारणसँग भेटघाटका लागि प्रयोग गरिनेछ । जहाँ भोजभतेरका लागि ब्याङ्क्वेट हल हुनेछ । एउटा गिफ्ट ग्यालरी हुनेछ, प्रधानमन्त्रीले विभिन्न संस्था, व्यक्ति र देशबाट पाएका उपहार यही कक्षमा सजाइनेछ । यो तलामा दुई प्रतीक्षा कक्ष हुनेछन् । त्यस्तै, एउटा होल्डिङ हल हुनेछ जहाँ प्रतीक्षा कक्षबाट प्रधानमन्त्रीलाई भेट्ने कक्षसम्म जाने आगन्तुकलाई ‘होल्ड’ गराइनेछ । पिए रुम पनि यही तलामा हुनेछ । सैलुन, डाक्टर रुम, डेन्टल रुम, भान्सा र भान्साको सामान राख्ने रुमलगायत संरचना निर्माण गरिनेछ ।

Sana Kishan

भवनको माथिल्लो अर्थात् तेस्रो तला प्रधानमन्त्रीको व्यक्तिगत प्रयोगका लागि छुट्याइएको छ । जहाँ विभिन्न प्रयोजनका लागि १२ युनिट बनाइनेछ । जस्तै, प्रधानमन्त्री कार्यालय, पुस्तकालय, बगैँचा, स्टुडियो, लबीलगायत संरचना हुनेछन् ।

यो भवनको बीचमा चोक हुनेछ । भवनको बीचमा नेपाली परम्परागत शैलीको चोक हुनेछ । चोकमा नेपालको विभिन्न संस्कृति झल्कने कला राखिनेछन् । त्यस्तै नेपालका मुख्य धरोहरको नमुनासमेत निर्माण गरिनेछ ।

अति विशिष्ट पाहुना कोठासहितको निजी भवन

प्रधानमन्त्रीको निजी निवासमा अति विशिष्ट पाहुनाका लागि पनि कोठा बनाइनेछ । यो भवन साढे दुई तलाको हुनेछ । करिब पाँच सय स्क्वायर मिटर अर्थात् एक रोपनी क्षेत्रफलमा फैलिने भवनको भुइँतलामा विभिन्न प्रयोजनका लागि १० युनिट निर्माण गरिनेछ । जहाँ गेस्ट रुम, लिभिङ रुम, किचन र डाइनिङ, लुगा धुने लाउन्ड्री, सुरक्षाकोठालगायत संरचना रहनेछन् ।

भवनको पहिलो तलामा विभिन्न प्रयोजनका लागि १५ युनिट बनाइनेछ । यो तला विशेषगरी प्रधानमन्त्रीको व्यक्तिगत प्रयोगका लागि प्रयोग गरिनेछ । एउटा मास्टर बेड रुमसहित दुई बेड रुम हुनेछन् । अध्ययन कक्ष, पूजाकोठा, भान्सा र खाना खाने कोठा, लबी, बाल्कोनीसहितको संरचना निर्माण गरिनेछ ।

दोस्रो तला भने अति विशिष्ट पाहुनाको प्रयोजनका लागि निर्माण गरिनेछ । जहाँ विभिन्न ११ युनिट निर्माण गरिनेछ । जस्तै, लबी, सुरक्षा कोठा, गोप्य कोठा, तीनवटा पाहुना कोठा, बस्ने कोठा, भान्सा र खाना खाने कोठालगायत संरचना बनाइनेछ ।

विभागले गत ११ जेठमा संघीय संसद् भवन निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । आगामी तीन वर्षभित्र सम्पन्न हुने गरी सात अर्ब रुपैयाँ लगानीमा सिंहदरबारस्थित पुतली बगैँचाको एक सय ७३ रोपनी आठ आना जग्गामा भवन निर्माण गर्न लागिएको हो ।

निजी निवास एक रोपनी क्षेत्रफलमा

भुइँतला : गेस्ट रुम, लिभिङ रुम, डाइनिङ र किचन, लुगा धुने कक्ष (लाउन्ड्री), सेक्युरिटी गार्ड कक्षसहित १० युनिट
पहिलो तला : मास्टर बेडरुम, परिवारका लागि अर्को बेडरुम, फ्यामिली रुम, डाइनिङ र किचन, प्रधानमन्त्रीको अध्ययन कक्ष, पूजा कोठा, होम थिएटर, लबी, बाल्कोनीसहित १५ युनिट
दोस्रो तला : अति विशिष्ट पाहुनाका लागि तीनवटा बेडरुम, उनीहरूका सुरक्षाकर्मीका लागि कक्ष, पाहुनाका सहयोगीका लागि कोठा, डाइनिङ र किचन र लबिसहित ११ युनिट
सार्वजनिक भवन दुई रोपनी क्षेत्रफलमा

भुइँतला : अति विशिष्ट भेटघाट कक्ष, मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्न सक्ने हल, ४० जनासम्मले खान मिल्ने डाइनिङ हल र किचन, कम्युनिकेसन सेन्टर जहाँ बसेर प्रधानमन्त्रीले सोसल मिडिया चलाउन सक्नेछन्, सुरक्षाकर्मीको कन्ट्रोल रुम, एडिसी अफिस, गोप्य कोठा र प्रतीक्षा कक्षलगायत १४ युनिट
पहिलो तला : सर्वसाधारणसँग भेटघाट कक्ष, भोजभतेर गर्न बेंक्वेट, एउटा भान्सा, दुईवटा प्रतीक्षा कक्ष, होल्डिङ रुम (प्रतीक्षा कक्षबाट प्रधानमन्त्रीलाई भेट्ने कक्षमा पुर्‍याउन अघि राखिने कोठा), पिए रुम, प्रधानमन्त्रीलाई प्राप्त गिफ्ट राख्ने ग्यालरी, सैलुन, डाक्टर कक्ष, डेन्टल रुमसहित नौ युनिट
दोस्रो तला : प्रधानमन्त्रीको कार्यकक्ष, प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्न अडियो–भिडियो स्टुडियो, बगैँचा, लबिसहित १२ युनिट
दुई वर्षभित्र निर्माण सम्पन्न हुनेछ : मोहम्मद इस्तियाक राई, सहरी विकासमन्त्री

हालको प्रधानमन्त्रीनिवासमा भूकम्पले क्षति पुर्‍याएको तथा क्षेत्रफल पनि साँघुरो भएकाले गत पुसमै मन्त्रिपरिषद् बैठकले नयाँ निवास निर्माण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणको तयारी गरेको छ । चालू आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ । सुरुमा निजी निवास बन्नेछ, त्यसपछि अहिलेको संरचना भत्काएर ‘पब्लिक’ भवन बनाइनेछ । यसका लागि दुई वर्ष लाग्नेछ ।
नयाँ पत्रिका अनलाइनबाट साभार
#प्रधानमन्त्रीको नयाँ निवास

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.