सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वडाध्यक्ष भान्जा: जसले मामाको नाममा वनै पास गरिदिए

बुटवल : कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित जनज्योति आधारभूत विद्यालयले वन क्षेत्रको जमिन बिक्री गरेको खुलेको छ।नगरपालिका- १ का वडाध्यक्ष तेजबहादुर बस्नेतसहितको समूहले जग्गा व्यापारीलाई जमिन बिक्री गरेको पाइएको हो।

करिब डेढ वर्षअघि बिक्री भएको सो जग्गाबारे हालैमात्र सार्वजनिक भएको हो। राजकुडा सामुदायिक वनको करिब ५ कठ्ठा जमिन विद्यालय व्यवस्थापन समितिको निर्णयबाट बिक्री गरिएको हो।

०७४ साल पुस १८ गतेको बैठकले स्थानीय जग्गा व्यापारी मोहनसिंह पोखरेललाई प्रति कठ्ठा ५ लाखको दरले २५ लाखमा बिक्री गर्ने निर्णय गरेको थियो।विद्यालयको परिसर छेउमा रहेको जग्गा बिक्री गर्दा सामुदायिक वनलाई समेत जानकारी गराइएको थिएन। सामुदायिक वनले फूलबारीका रुपमा प्रयोग गर्ने गरी सो जमिन विद्यालयलाई दिएको थियो। तर जुन जग्गा सरकारी वनकै रुपमा रहेको छ।

World Link Ads
Mahakali Polytechnic

जग्गा बिक्रीपछि व्यापारी पोखरेलसहितको समूहले त्यहाँ भएका सालका रुख कटान गरी प्लटिङ गरेका छन्। प्लटिङ भएका केही घडेरीहरु समेत तेस्रो पक्षलाई बिक्री गरी दिएको छ।

Dirghayu Ads

खरिदमुल्यको दोब्बरभन्दा बढी प्रति कठ्ठा १२ लाखमा दुईजना व्यक्तिले घडेरी खरिद गरेका छन्।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद पौडेल र प्रधानाध्यापक रबिलाल घिमिरेको जोडवलमा जमिन बिक्री भएको हो। विद्यालयमा निजी स्रोतका शिक्षक राख्नुपर्ने भन्दै उनीहरुले स्थानीय भेला गराई जमिन बिक्री गराएका थिए।

जग्गा बिक्री गर्ने निर्णय पुस्तिकामा हस्ताक्षर गरेकी स्थानीय मिना केसीले बिक्री नगरौं भन्दा भन्दै बेचिएको बताइन्। ‘जमिनभन्दा पैसा बैंकमा राखे फाइदा हुन्छ, पछि बिक्री गर्न पाइदैन भन्ने दबाब आयो’, उनले भनिन्।

Sana Kishan

जग्गा बिक्री भएको घटना बाहिरिएपछि स्थानीयले चर्को विरोध गरेका छन्।स्थानीयले अख्तियारमा उजुरी दिएका छन्। छ महिनाभित्र जग्गाको पुरै रकम भुक्तानी गर्ने गरी एक लाखको बैना गरेका पोखरेलले १० लाख मात्रै भुक्तानी गरेका छन्।

स्थानीय टेकलाल बेल्बासेले आफूहरुलाई पहिला हस्ताक्षर गराएर पछि जग्गा विक्री गर्ने निर्णय थपिएको बताए। ‘पहिलो उपस्थिति गराए हामी निस्किएपछि जग्गा बेच्ने भनेर निर्णय थपेछन्,’ उनले भने, ‘वनले दिएको जग्गा बेच्नुपर्ने आवश्यकता नै थिएन।’

जग्गा खरिदकर्ता पोखरेल वडाध्यक्ष बस्नेतका मामा हुन्। मामाले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग मिलेर जग्गा बिक्री गराएको स्थानीयको आरोप छ।बढाबढमा जमिन बिक्री गर्ने भन्दै मुल्य तय भएको बैठकमा सहभागी हुताकान्त पन्थीले बताए। वडाध्यक्ष बस्नेतले बैठकमा एकाएक एजेण्डा झिकेर मामालाई जग्गा दिलाएको उनले बताए। विद्यालय भवन बनाउने र शिक्षक राख्ने आश्वासन दिएपछि अहिलेसम्म कुनै काम नभएको उनको भनाई छ।

वडाध्यक्ष बस्नेतले विद्यालय आसपासमा त्यसअघि पनि जग्गा बिक्री भएको भन्दै विद्यालय चलाउनका लागि समितिले गरेको निर्णयमा सहमति जनाएको बताए। ‘विरपुरमा धेरै सार्वजनिक जग्गा बिक्री गरेर पक्की घर बनाइएका छन्, उनले भने, ‘विद्यालयले आफूले चर्चेको जग्गा विक्री गरेको हो।’ बस्नेतले आफूले वरु सार्वजनिक जग्गा किनबेच नगर्न र गरे कारबाही गर्ने सूचना जारी गरेको दाबी गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले विद्यालय चलाउनका लागि जग्गा बिक्री गरिएको भन्दै बिक्री गर्दा प्रक्रिया नमिलेको स्वीकार गर्छन्।’हामीबाट केही कमीकमजोरी भएको हो, अब सुधार्ने पक्षमा छौं, उनले भने। उनले व्यक्तिगत स्वार्थमा जग्गा बिक्री नगरेको दावी गरे। विद्यालयका प्रधानाध्यापक रबिलाल घिमिरले जग्गा फिर्ता गर्ने तयारी गरिएको बताए।

वनको जग्गा बिक्री भएपछि डिभिजन वन कार्यालय कपिलवस्तुले जमिन नचलाउन विद्यालयलाई निर्देशन दिएको छ। वनको निर्देशनपछि मात्रै प्लटिङ घडेरी विक्री गर्न रोकिएको छ।कार्यालयका फोरेस्टर इस्लाम अलीले विद्यालयले जग्गाको विषयमा वनलाई जानकारी नगराएको बताए। स्थानीयले सार्वजनिक जग्गा बिक्री गर्ने समूहलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।
साभार अन्नपुर्ण पाेष्ट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.