२५ जेठ
काठमाडौं : बजेट पूर्व कायम भएको दैनिक उपभोग्य वस्तुको मूल्य व्यापारीको मिलेमतोमा हालसम्म फिर्ता गरिएको छैन। व्यापारीहरूले विभिन्न बहानामा अत्यावश्यक दैनिक उपभोग्य बस्तुको मूल्य आफुखूसी तोकेका थिए। दैनिक उपभोग्य बस्तुको उपभोक्ता मूल्यमा सय रुपैयाँसम्म वृद्धि गरिएको थियो।
बजेट वक्तव्य आउनुभन्दा तीन दिनअघि दैनिक उपभोग्य बस्तुमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम एक सय रुपैयाँसम्म मूल्य वृद्धि भएको थियो। मूल्य वृद्धिले सबैलाई अतिरिक्त आर्थिक भार थपेको थियो। व्यापारीले एकलौटी रूपमा गरेको मूल्य वृद्धिलाई अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सही छाप लगाइदिएकाले मूल्य वृद्धि कायमै रहेको हो।
भारतमा भएको आम निर्वाचनका बेला व्यापारीले उपभोग्य बस्तुको मूल्य वृद्धि गरेका थिए। खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार भारतमा हालै सम्पन्न निर्वाचनका कारण मागअनुसार आपूर्ति नहुँदा थोक विक्रेताले मूल्य वृद्धि गरी उपभोग्य बस्तु बजार पठाएका थिए। दैनिक उपभोग्य बस्तुमा आधिकारिक रूपमा १० देखि ५० रुपैयाँ वृद्धि भएको जनाइएको छ। थोकले वृद्धि गरी पठाएको मूल्यमा अझै पनि आम उपभोक्ताले बस्तु खरिद गर्न पाएका छैनन्। थोक मूल्यमा १० देखि १५ रुपैयाँ वृद्धि गरी पसलेले अतिरिक्त मूल्य असुल गर्दै आएका छन्।
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
राज्य संयन्त्रको कमजोर अनुगमन प्रणालीका कारण आम उपभोक्ता यतिखेर चर्को महँगीको भार थेग्न बाध्य छन्। गत वर्ष पनि बजेट आउने मुखमै व्यापारीले आफुखूशी मूल्य वृद्धि गरेका थिए। व्यपारीले सबै प्रकारका खाद्यान्न, खानेतेल, चिनी र दालको पनि मूल्य वृद्धि गरेका थिए। यसबाहेक हरियो तरकारी तथा खसीको मासु र माछाको मूल्यमा अत्यधिक वृद्धि भएको छ। श्रेष्ठले भने, ‘हामीले मूल्य वृद्धि गरेका छैनौं। थोक विक्रेताबाटै मूल्य वृद्धि भएर आएकाले खुद्रा मूल्य बढेको हो।’
![Dirghayu Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/Dirghayu.gif)
‘नियमनकारी निकायले अनुगमन गरी मूल्य नियन्त्रण गर्नुभन्दा व्यापारीकै मूल्यलाई मान्यता दिएपछि आम उपभोक्ता मर्ने नै भए,’ उपभोक्तावादी प्रेमलाल महर्जनले भने, ‘कर्मचारीको तलब वृद्धि भएपछि मौका छोपेर थप मूल्य वृद्धि हुने आशंका गरिएको छ।’ नियमनकारी निकायले प्रभावकारी रूपमा अनुगमन नगर्ने हो भने वृद्धि भएको तलबमानलाई बहाना बनाएर उपभोग्य बस्तुको मूल्य पुन: वृद्धि गर्न सक्ने उपभोक्तावादी महर्जनले जानकारी दिए।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले केही बस्तुको अन्तर्राष्ट्रिय मूल्य बढेकाले मूल्य वृद्धि भएको दाबी गरे। उनले भने, ‘बस्तुहरूको मौज्दात सकिने बेला भएकाले व्यापारीले सामान्य मूल्य वृद्धि गरेका हुन सक्छन्। हामी नियमित रूपमा अनुगमन गर्दै छौं। कैफियत भेटिए कारबाही गर्छौं।’
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
खसीको मासुको उपभोक्ता मूल्य एक हजार पाँच सयसम्म पुगेको छ। सरकारले अवैध रूपमा हुने खसीबोकालाई आयातमा कडाई गरेपछि मौकाको फाइदा उठाउँदै व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी मासुको मूल्य वृद्धि गरेका हुन्। यसअघि खसीको मासुको मूल्य प्रतिकिलो अधिकतम एक हजार रुपैयाँ थियो। यस्तै प्रतिकिलो दुई सय ५० मा पाइने माछाको मूल्य अहिले तीन सय ५० रुपैयाँ छ।
थोक खाद्य किराना व्यवसायी संघका उपाध्यक्ष कमलेश अग्रवालले वृद्धि भएको मूल्य फिर्ता हुन नसक्ने जानकारी दिए। भारतको निर्वाचनका कारण उताबाट दैनिक उपभोग्य बस्तुको नियमित रूपमा पर्याप्त परिमाणमा आयात नहुनु र स्वदेशभित्र रहेका बस्तुको मौज्दात अवस्था घट्दै जानुले मूल्य वृद्धि भएको छ। अग्रवालले भने, ‘मागअनुसार नियमित आपूर्ति प्रणाली प्रभावित हुँदा दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि भएको हो। व्यापारीले मिलेमतो गरी आफूखुसी मूल्य वृद्धि गरेका होइनन्।’ मुसुरो र रहरको दालको मूल्य अन्तर्राष्ट्रिय बजारमै वृद्धि भएकाले त्यसको प्रभाव परेको उनको दाबी छ।
खुद्रा व्यापारीले पनि बढाए मूल्य
थोक विक्रेताले जिरा मसिनो चामलको मूल्य क्रमश : एक हजार चार सय, एक हजार पाँच सय र एक हजार सात सय रुपैयाँ पर्नेमा सबै बोरामा ५०–५० रुपैयाँ थपेर खुद्रा व्यापारीलाई बिक्रीका लागि पठाएका छन्। यस्तै प्रतिलिटर सनफ्लावर र भटमासको खानेतेलमा १० रुपैयाँ वृद्धि गरिएको छ। चिनीमा पाँच रुपैयाँ थप भएको छ। त्यस्तै रहर, मुसुरो, स्वदेशी मुसुरो र मासको दालमा १०–१० रुपैयाँ थप भएको खुद्रा व्यापारीलाई पठाइएको छ।
उपभोक्ता मारमा
थोक विक्रेताले खुद्रा व्यवसायी संघलाई उपलब्ध गराएको आधिकारिक खुद्रा मूल्यमा अतिरिक्त रकम जोडेर उपभोक्ताबाटै असुल गरेको पाइएको छ। थोकले खुद्रालाई एक हजार चार सय ५० रुपैयाँ तोकेर पठाएको जिरा मसिनोलाई साना पसलले एक हजार पाँच सय ५०, एक हजार पाँच सय ५० पर्ने जिरा मसिनोलाई एक हजार ६ सय ५०, एक हजार सात सय ५० मूल्य पर्ने जिरा मसिनोलाई साना पसलेले एक हजार आठ सय ५० रुपैयाँमा उपभोक्तामाझ बिक्री गर्दै आएका छन्। एक हजार चार सय पर्ने सोना मन्सुलीलाई एक हजार पाँच सय रुपैयाँ तोकिएको छ।
खानेतेलतर्फ प्रतिलिटर एक सय ४० रुपैयाँ मूल्य तोकिएको भटमासको तेललाई एक सय ५५ र एक सय ५० मूल्य तोकिएको सनफ्लावर तेललाई एक सय ६५ रुपैयाँमा खुद्रा पसलेले बिक्री गर्दै आएका छन्। त्यसैगरी प्रतिकिलो एक सय ४० रुपैयाँ तोकिएको रहरको दाललाई एक सय ५५, ९० रुपैयाँको मुसुरोको दाललाई एक सय १०, एक सय रुपैयाँको स्वदेशी मुसुरोको दाललाई एक सय २० र एक सय २० को मासको दाल एक सय ३० रुपैयाँमा खुद्रा पसलबाट बिक्री हुँदै आएको छ।
अन्नपुर्णबाट साभार
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)