सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यूट्युबे पत्रकारिताको हरिबिजोग : मुकुन्देदेखि अर्जुन क्षेत्री हुँदै अघोरी बाबासम्म !

यूट्युबका भिडियोहरु हेरिरहनुहुन्छ भने एकजना बाबाजीलाई पक्कै देखेको हुनुपर्छ । अचेल यूट्युबमा सबैभन्दा धेरै हेरिनेमध्ये एक पात्र हुन् यी बाबाजी ।

राजधानी उपत्यकाकाे उत्तरी कुनो सुन्दरीजलमा बस्दैआएका यी संन्यासी आफूलाई ‘महा मृत्युन्जय अघोर बाबा’ भनेर चिनाउँछन् । अर्थात् जीवनमा आफूले सिद्ध प्राप्त गरिसकेको उनको दावी छ । सुन्दरीजलस्थित बाबाजीको कुटीमा दिनभर बाक्लो भीड लाग्छ । देशभरका यूट्युब युजरहरु बाबाजीको भिडियो अन्तर्वाता लिन यहाँ आइपुग्छन् ।

रोचक कुरा त के भने, यूट्युब युजरहरु उनलाई यस्ता प्रश्न सोध्छन्, मानौँ देशको प्रखर राजनीतिक विश्लेषक, इतिहासविद्, भविष्यवेत्ता । सबैथोक उनै बाबाजी हुन् ! यतिसम्म कि, सांसारिक व्यवस्थाबाट मुक्त हुन एकान्तमा पुगेका ती संन्यासीसँग एकजनाले सोध्दै थिए, ‘बाबाजी देशमा युवाहरुको बेरोजगारी समस्या छ, हरेक दिन युवाहरु विदेश पलायन छन् । यसको समाधान के हो, तपाईँ के भन्नुहुन्छ ?’

World Link Ads
Health Notice Kanchanpur

बाबाजी भने यस्ता प्रश्नको जवाफ चलनचल्तीकै स्टाइलमा दिन्छन् । अर्का यूट्युबे बाबाजीलाई उत्साही हुँदै सोध्दै थिए, ‘बाबाजी अर्जुन क्षेत्रीले त देशमा भूकम्प जाँदैछ भनेर भविष्यवाणी गर्दैछ नी ! के त्यो सत्य हो ?’

यस्ता प्रश्न सुनेर बाबाजी पनि हाँस्दैनन् । तब मलाई चाहीँ हाँसो लाग्यो । र उदेक लाग्दै छ । आफूलाई पत्रकार नै दावी गर्ने यूट्युबेहरु सामाजिक, आर्थिक स्थिति, देशको भविष्य सोध्न बाबाजीकहाँ पुग्छन् ! यो भन्दा ठट्टा के हुन सक्छ ?

उनीहरुका प्रश्न हल्का त छन् नै, हावादारी पनि हुन्छन् । जस्तो कि, ‘देशमा राजसंस्था फर्किने सम्भावना कत्तिको छ ?’, ‘के यो देश हिन्दुराज्य बन्ला त ?’ पत्रकारिता गरिरहेको भनिएका यूट्युब युजरहरुको मुखबाटै यस्ता प्रश्न जब सोधिन्छ भने कहीँ कतै नेपाली पत्रकारिताबारे पनि सोच्नुपर्ने छ । हाम्रो देशमा पत्रकारिता गर्नेहरु के सिक्छन् ? अध्ययन र बहसको संस्कार कस्तो छ ? यसबारे सोच्नुपर्ने छ ।

ती बाबाजीलाई यूट्युबमा सबैभन्दा धेरै सोधिने प्रश्नमध्ये एउटा हो, ‘बाबाजी तपाईँले भूतलाई भेट्दा कस्तो अनुभूति भयो ?, किचकन्यासँग तपाईँले कस्तो कुराकानी गर्नुभयो ?’

स्मरणीय के छ भने, यूट्युबमा छाइरहेका ती बाबाजी आफैँले परिवार र आफन्त कोही नभएपछि एक्लो महसुश गर्दै संन्यासी बनेँ भनिसकेका छन् । साथै ‘भूतप्रेत’ र ‘किचकन्या’ वैज्ञानिक रुपमा अपुष्ट कुरा हुन् । तै पनि बाबाजीलाई सोधिन्छ बारम्बार त्यही प्रश्न ।

Sana Kishan

बाबाजी हिट हुनुभन्दा केही साताअघि यूट्युबमा छाएका थिए, लिलाराज खतिवडा । जो आफैँ पत्रकारिता गर्थे । पछिल्लो समय उनी पनि आफूलाई बुद्धत्व प्राप्त गरेको मानव जस्तै ठान्छन् । पत्रकारहरु भने उनलाई अर्थतन्त्र, अपराध, देश, विदेश, विश्व–व्रमाण्डको बारेमा कौतुहलतापूर्वक सोध्छन् । यतिसम्म कि, उनी दाउद इब्राहिम, आईएसका जासूस नेपालमा भएको, रवीन्द्र अधिकारीलाई षड्यन्त्र गरी वाण हानेर खसालिएको जस्ता हावादारी गफ दिन्थे ।

व्यक्तिगत रुपमा उनका यस्ता जोकप्रति मेरो चासो हैन । तर यूट्युबे मिडिया चलाउने ‘युवा पत्रकारहरु’ले यस्ता औतारी मान्छेहरु कहाँ र कसरी भेट्छन् ? बुम र क्यामेरा बोकेर देशको राजनीतिक अवस्था सोध्न ‘जोकरहरु’कहाँ किन पुग्छन् ?

कुनै बेला मुकुन्द घिमिरे भन्ने एकजना ‘विश्लेषक’ थिए । अचेल अर्जुन क्षेत्री, लिलाराज र अघोरी बाबाले मुकुन्द घिमिरेलाई धेरै पछि पारिसकेका छन् । यो आधुनिक समयको उदेकलाग्दो पाटो हो । देशको राजनीति, समाजशास्त्र, अर्थतन्त्र, परराष्ट्र मामिलाबारे विज्ञ को छन् भन्ने कुरा पनि अब यूट्युब चलाउने ‘युवा पत्रकारहरु’लाई सिकाइरहनुपर्ने बेला हो त ?

ठट्टा त कस्तो हुन्छ भने, लिलाराजले यूट्युबमा देशको समाजशास्त्रीय चिन्तन गरिरहेको यदी चैतन्य मिश्रले देखे भने के सोच्लान् ? अघोरी बाबाजीले युवाहरुलाई रोजगारी कसरी सृजना गर्ने भन्नेबारे मन्थन गरिरहेको भिडियो विश्व पौडेल र स्वर्णिम वाग्लेहरुले देखे भने कता जालान् ?

समाजशास्त्र, राजनीति, अर्थशास्त्र, परराष्ट्र मामिला, कानून, भाषा, द्धन्द्ध जस्ता विषय विश्वविद्यालयमा पढाइने विषय हुन् भन्ने कुरा यूट्युबेहरुले बुझ्नुपर्छ । र आजको विश्वमा महंगा र प्रसिद्ध विश्वविद्यालयमा यीनै विषय अध्ययन गर्ने अध्येताहरुमध्ये नेपालमा पनि छन् भन्ने कुरा जानकारी राख्नुपर्छ । प्रदीप गिरी, चैतन्य मिश्र, आहुती, कृष्ण खनाल, देवेन्द्रराज पाण्डेहरु दिनभर लगभग फुर्सदिलो भइरहनु, राजधानीका ‘युवा पत्रकारहरु’ चाहीँ देशको राजनीतिक, सामाजिक अवस्थाबारे विश्लेषण सुन्न कहिले बाबाजीको कुटीमा त कहिले अर्जुन क्षेत्रीकहाँ भौँतारिनु आजको विडम्वना नै हो ।

वैकल्पिक पत्रकारिता

यूट्युब च्यानलहरु अचेल व्यापक छन् । तपाईँको कुरा कुनै कर्पोरेट मिडियाले समेट्न सकेन भने यूट्युब च्यानल सजिलो माध्यम बन्न सक्छ । त्यसो त, कर्पोरेट मिडियाले छुटाएका सामाजिक बहस र अन्तरक्रिया तपाईँ उठाउन चाहनुहुन्छ भने पनि यो प्लेटफर्म सजिलो छ ।

सामान्यतः विश्वभर जुनसुकै पेशामा वैकल्पिक प्रयास रुचीपूर्ण र उर्जाशील हुन्छ । जस्तो कि, पत्रकारितामा मूलधारका मिडियाले उठाउन नसकेका वा नचाहेका विषय यस्ता च्यानलले कभरेज गरेर गम्भीर प्रश्न खडा गरिदिन सक्छन् । भारतमा ध्रुव राठी यस्तै वैकल्पिक पत्रकारिताको अभ्यासबाट आएका हुन् ।

नेपालको सन्दर्भमा त वैकल्पिक उपायहरु यति बरालियो कि, यसको कुनै आकार र संस्कार छैन । युवाहरुलाई बहस र अन्तरक्रियामा सक्रिय बनाउनुपर्ने थियो । मूलधारका मिडिया र सत्ताले स्थापित गरेका मानक र मान्यता भत्काउन अहिले स्वर्णिम समय हो । प्रविधिको प्रसस्त सुविधा हुँदाहुँदै युवाहरु अघोरी बाबा, अर्जुन क्षेत्री, मुकुन्द घिमिरे जस्ता पात्रसँग राजनीतिक बहस गरेर समय सिद्ध्याउँदै छन् । यस्तो बरालिएको संस्कारले न त चिन्तनको दयरा फराकिलो हुन्छ, न त आलोचनात्मक चेतको विकास ।
साभार अन्नपुर्णबाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.