इङ्ग्ल्यान्डका बलिङ अलराउन्डर जेमी ओभरटन वेस्ट इन्डिजसँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाबाट बाहिरिएका छन् । वेस्ट इन्डिजसँगको शृङ्खलाको पहिलो खेल खेलेका ३१ वर्षीय अलराउन्डर ओभरटन दायाँ हातको कान्छी औँला भाँचिएका कारण बाँकी खेलहरूबाट बाहिरिएका हुन् ।
बिहीवार एजबास्टनमा वेस्ट इन्डिजसँगको पहिलो एकदिवसीय खेलका क्रममा उनलाई चोट लागेको थियो । त्यो खेल इङ्ग्ल्यान्डले २ सय ३८ रनले जितेको थियो । इङ्ग्ल्यान्डले दिएको ४ सय १ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २६ ओभर २ बलमा १ सय ६२ रन बनाउँदा अलआउट भएको थियो । यो खेलमा ओभरटनले ३ विकेट लिनुअघि ब्याटिङबाट १ रन बनाएका थिए ।
घरेलु टोली इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजबीचको एकदिवसीय शृङ्खलाको दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल मङ्गलवार हुनेछ । यसपछि यी दुई टोलीबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला शुरू हुनेछ ।










Discussion about this post