इङ्गल्यान्डका बलर नाथन सोउटरले काठमाण्डौ गुर्खाजबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।
३२ वर्षीय नाथनलाई पाँचौं विदेशी खेलाडीका रूपमा भित्र्याएको काठमाण्डौ गुर्खाजले जनाएको छ । उनले १ सय ४३ टी–२० क्रिकेटमा १ सय ५४ विकेट लिएका छन् । नाथन काठमाण्डौमा आबद्ध हुने इङ्गल्यान्डका तेस्रो खेलाडी हुन् ।
काठमाण्डौले यसअघि इङ्गल्यान्डका स्टेफन इस्किनाजी र ड्यान डौथवेटसहित नेदरल्यान्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड इरसमसलाई अनुबन्ध गरेको थियो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आठ टोली सहभागी हुने एनपीएल यही मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । उद्घाटन खेलमा विराटनगर किङ्गस र जनकपुर बोल्ट्स खेल्दैछन् ।