काठमाडौँ : नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी भाटभटेनी सुपर मार्केटको स्पोर्ट्स ब्राण्ड एम्बासडर नियुक्त भएकी छन्।
महाराजगञ्जस्थित आफ्नै भवनमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमार्फत भाटभटेनीले भलिबलकी स्टार खेलाडी उषालाई एक वर्षका लागि आफ्नो स्पोर्ट्स ब्राण्ड एम्बासडर घोषणा गरेको हो।
सो अवसरमा खेलपोशाक कम्पनी टी-टेन स्पोर्ट्सले पनि उषालाई ब्रान्ड एम्बासडर घोषणा गर्यो। कार्यक्रममा भाटभटेनी सुपर मार्केटका निर्देशक कल्याण गुरुङ, टी-टेनका हेड अफ बिजनेस डेपलभमेन्ट आलोकजंग जोशी र भलिबल खेलाडीबीच त्रिपक्षीय सम्झौता भएको थियो।
भाटभटेनीले सम्झौताअनुरूप उषालाई १० लाख रूपैयाँ दिने भएको छ। उनले हरेक महिना ८३ हजार ३३३ रूपैयाँ प्राप्त गर्ने भाटभटेनीले जनाएको छ।
टी-टेनले भने ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। सो अवसरमा भाटभटेनी सुपर मार्केटका निर्देशक गुरुङले नेपालको महिला भलिबल फ्रेन्चाइज लिगमा पनि टोली खरिद गर्दै महिला भलिबलको विकासमा काम गर्न तयार रहेको बताए।