युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलकुद क्षेत्रमा बजेट बढाउन पहल गरिदिन संसदीय समितिको ध्यानाकर्षण गराउनुभएको छ । मन्त्री गहतराजले खेलकुद क्षेत्रमा सरकारले गरेको लगानीको अवस्था दयनीय रहेको उल्लेख गर्दै त्यसलाई बढाउनका लागि पहल गरिदिन सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको ध्यानाकर्षण गराउनुभएको हो ।
आज मङ्गलवार समितिको बैठकमा बोल्दै उहाँले खेलकुद क्षेत्र उत्पादनमूलक क्षेत्र भएको र त्यसमा लगानी बढाउनुपर्छ भन्ने मान्यता सरकारमा विकास गराउन पनि सम्बन्धित सबै पक्षले सहयोग गर्नुपर्ने बताउनुभयो । मन्त्री गहतराजले बजेट अभावकै कारण खेलाडीहरूको मनोबल बढाउन र खेलकुद क्षेत्रको पूर्वाधार विकासका कामहरू अघि बढाउन नसकिएको पनि स्पष्ट पार्नुभयो । उहाँले अदालतका अल्पकालीन आदेशका कारण पनि खेलकुद क्षेत्र, युवाहरूलाई सशक्तिकरण गर्ने कार्यक्रमहरू अघि बढाउन समस्या भइरहेको स्मरण गराउनुभयो ।
मन्त्री गहतराजले खेलकुद क्षेत्रको राम्रो प्रतिफल लिनका लागि त्यसमा लगानी बढाउनुको विकल्प नरहेको पनि पटक–पटक दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, ‘खेलकुद क्षेत्रमा लगानी बढाउने दिशामा संसदीय समितिको समेत ध्यान जानुपर्ने मैले देखेको छु । यो अन्तर्राष्ट्रिय जनसम्बन्धको क्षेत्र पनि हो । त्यस कारण यो क्षेत्रमा गरिने लगानी अनुत्पादक हुँदैन भन्ने कुरा समितिले चासो दिए लगानी वृद्धि हुने र त्यसबाट राम्रो प्रतिफल प्राप्त हुन सक्ला भन्ने मलाई लागेको छ ।’
बैठकमा बोल्दै मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले खेलकुद क्षेत्रको गतिविधिलाई चलायमान हुने गरी आवश्यक ऐनहरू संशोधनको कामलाई अघि बढाइएको जानकारी समितिलाई गराउनुभयो । उहाँले सर्वोच्च अदालतको अल्पकालीन आदेशका कारण राष्ट्रिय खेलकुद परिषद्लगायतका निकायहरूको काम प्रभावित भइरहेको बताउनुभयो ।
सचिव रेग्मीले खेलाडीहरूको मनोबल बढाउन र युवाहरूलाई सशक्तिकरण गरेर देश निर्माणमा लगाउने खालका काम बजेटको अभावमा प्रभावकारी हुन नसकेको बताउनुभयो । उज्यालो अनलाइन बाट सभार









Discussion about this post