काठमाडौं । भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा करिब १ अर्ब ४१ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। बाढीबाट भएको क्षतिको मूल्याङ्कन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा यस्तो तथ्य सार्वजनिक भएको हो।
यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित १३ सदस्यीय मूल्याङ्कन समितिले भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई अध्ययन प्रतिवेदन बुझाएको हो।
प्रतिवेदनअनुसार बाढीले कुल ४०९ वटा सवारीसाधनमा क्षति पुर्याएको छ। तीमध्ये विवरण खुलेका ३८४ वटा सवारीसाधनमा मात्रै १ अर्ब ४० करोड ७३ लाख ७७ हजार ८७५ रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ। बाँकी २५ वटा सवारीसाधनको क्षतिको विवरण खुल्न बाँकी छ।
बाढीबाट सबैभन्दा बढी ३१२ वटा कन्टेनरमा क्षति पुगेको छ। त्यस्तै, ३९ वटा बस, ३३ वटा ट्रक, ९ वटा टिपर, ९ वटा मिनी तथा माइक्रोबस, ४ वटा पर्यटकीय सवारीसाधन, ३ वटा जिप तथा भ्यान, एक ट्रेलर र एक मोटरसाइकलमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा संलग्न ७४३ जनाभन्दा बढी बेपत्ता भएको प्रतिवेदनले जनाएको छ।
समितिले बाढीबाट प्रभावित परिवार तथा यातायात मजदुरका लागि उचित राहत, क्षतिपूर्ति, सामाजिक सुरक्षा र पुनर्स्थापनाको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।










Discussion about this post