काठमाडौं । नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने प्रतिबद्धता दोहोर्याउँदै रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य तथा सिद्धान्त पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।
नेदरल्यान्ड्सको हेगमा जारी रासायनिक हतियार निषेध सङ्गठन (ओपिसिडब्ल्यु) को सदस्य राष्ट्रहरूको सम्मेलनको ३१औँ अधिवेशनलाई सम्बोधन गर्दै बेनेलक्स देशका लागि नेपाली राजदूत तथा ओपिसिडब्ल्युका लागि नेपालका स्थायी प्रतिनिधि सेवा लम्सालले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
उहाँले निरस्त्रीकरण र अप्रसारलाई नेपालको परराष्ट्र नीतिका आधारभूत स्तम्भका रूपमा उल्लेख गर्दै विश्व शान्ति, शान्तिपूर्ण सहअस्तित्व र अन्तर्राष्ट्रिय सहयोगप्रति नेपालको प्रतिबद्धता दोहोर्याउनुभयो।
नेपाल कुनै पनि परिस्थितिमा रासायनिक हतियारको विकास, उत्पादन, प्राप्ति, भण्डारण, प्रसार तथा प्रयोगको विपक्षमा रहेको राजदूत लम्सालले स्पष्ट पार्नुभयो।
उहाँले अतिकम विकसित मुलुकहरूको संस्थागत, प्राविधिक तथा जनशक्ति क्षमता अभिवृद्धिका लागि ओपिसिडब्ल्युको निरन्तर सहयोग, तालिम र क्षमता विकास कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी, कृत्रिम बौद्धिकता (एआई) र जैविक प्रविधिलगायत विज्ञान तथा प्रविधिमा भइरहेका नयाँ विकासबाट उत्पन्न हुन सक्ने चुनौती सामना गर्न अन्तर्राष्ट्रिय संवाद र सहकार्य आवश्यक रहेको नेपालले जनाएको छ।
ब्रसेल्सस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो।










Discussion about this post