जनकपुरधाम । छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित तराई–मधेसका विभिन्न बजारमा केराको कारोबार बढेको छ। छठ पर्वमा केरालाई प्रमुख प्रसादका रूपमा चढाउने परम्परा रहेकाले बजारमा यसको माग उच्च भएको हो।
यस वर्ष भारतबाट केरा आयात नभए पनि स्वदेशी उत्पादनले बजारको माग धानिरहेको व्यवसायीहरूले बताएका छन्। तर, विगतका वर्षको तुलनामा केरा महँगो भएको भन्दै उपभोक्ताले भने असन्तुष्टि व्यक्त गरेका छन्।
जनकपुर फलफूल व्यवसायी संघका अध्यक्ष विश्वेश्वर यादवका अनुसार यस वर्ष कैलालीको टीकापुर, नवलपरासी, चितवन, हेटौँडा, निजगढ, बिर्तामोड र इनरुवालगायत क्षेत्रबाट केरा आपूर्ति भइरहेको छ।
हाल बजारमा मिर्चमान जातको केरा प्रतिघरी एक हजारदेखि १२ सय रुपैयाँसम्म र गोपाल जातको केरा प्रतिघरी पाँच सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
स्वदेशी उत्पादनमा वृद्धि भएकाले यस वर्ष बजारमा केराको अभाव नहुने अध्यक्ष यादवको दाबी छ। पर्याप्त आपूर्ति भइरहे पनि मूल्य भने उपभोक्ताको अपेक्षाअनुसार नरहेको गुनासो छ।
विगतका वर्षमा भारतबाट समेत केरा आयात हुँदा मूल्यमा प्रतिस्पर्धा हुने र उपभोक्ताले सस्तोमा खरिद गर्न पाउने गरेको उनीहरूको भनाइ छ। यस वर्ष भने पहिले ६ देखि ७ सय रुपैयाँमा पाइने केरा अहिले व्यापारीले १५ सय रुपैयाँसम्म माग्ने गरेको उपभोक्ताको गुनासो छ। उनीहरूले केराको मूल्य नियन्त्रण तथा बजार अनुगमन गर्न सरकारसँग माग गरेका छन्।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दा केरालाई अनिवार्य प्रसादका रूपमा प्रयोग गर्ने धार्मिक परम्परा छ। त्यसैले पर्वको मुख्य दिन नजिकिँदै गर्दा केराको कारोबार थप बढेको व्यवसायीहरू बताउँछन्।










Discussion about this post