काठमाडौं । पश्चिमी वायुको प्रभाव बढ्दै गएपछि आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारदेखि पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आउनेछ। विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार आज र भोलि देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहनेछ। एक–दुई स्थानमा हल्का वर्षा भए पनि उल्लेखनीय परिवर्तन हुने सम्भावना छैन। तर आइतबारदेखि पश्चिमी वायुको प्रभाव विस्तार हुँदै जाने उहाँले बताउनुभयो।
यसको प्रभाव गण्डकी प्रदेशसम्म फैलिन सक्ने तथा बागमती र कोशी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा समेत वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने सम्भावना रहेको छ।
वर्षा र असिनाका कारण खेतमा रहेको धानबाली तथा काटेर सुकाउन राखिएको परालमा क्षति पुग्न सक्ने भएकाले किसानलाई सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन्। काट्न बाँकी रहेको धानबाली तत्काल काटेर सुरक्षित स्थानमा राख्न तथा काटिसकेको धान र पराल सुरक्षित गर्न आग्रह गरिएको छ।
मौसमविद्का अनुसार ठूलो पानी पर्ने सम्भावना नरहे पनि केही स्थानमा मध्यमसम्मको वर्षा हुन सक्छ। पश्चिमी वायुद्वारा विकसित हुने न्यूनचापीय प्रणाली छिटो सर्ने भएकाले केही समय वर्षा भएर रोकिने प्रकृति रहनेछ।
हिउँदे वर्षा र हिमपातले हिउँदेबालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले यसलाई सकारात्मक रूपमा पनि लिन सकिने मौसमविद् पोखरेलले बताउनुभयो।
महाशाखाले मौसमसम्बन्धी नियमित पूर्वानुमान तथा सूचनाबारे अद्यावधिक रहन सर्वसाधारणलाई आग्रह गरेको छ।










Discussion about this post