काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेताको प्रतिनिधिमण्डल आइतबारदेखि ११ दिने चीन भ्रमणमा जाने भएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा टोली चीन जान लागेको हो।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा प्रतिनिधिमण्डलले बेइजिङ, हाङचोउ र सिचुवानलगायत क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ।
भ्रमण टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित २० जना नेता तथा सांसद सहभागी हुनेछन्।
भ्रमणका क्रममा चीनले नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ, डिजिटल प्रविधि, औद्योगिक विकास तथा कृषि आधुनिकीकरणका क्षेत्रमा हासिल गरेका उपलब्धिबारे अध्ययन तथा अनुभव आदानप्रदान गरिने जनाइएको छ।
टोलीका सदस्य एवं रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुख आनन्द चन्दले चीनको प्रविधि र अनुभवलाई नेपालको आवश्यकता तथा क्षमताअनुसार उपयोग गर्ने विषयमा अध्ययन गरिने बताएका छन्।
त्यस्तै, टोलीका सदस्य डा. धनञ्जय रेग्मीले भ्रमणले नेपाल र चीनबीचको आपसी समझदारी तथा सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
भ्रमणबाट राजनीतिक सम्बन्ध विस्तारसँगै आर्थिक, प्राविधिक तथा विकासका क्षेत्रमा दुई देशबीच सहकार्यका नयाँ सम्भावना पहिचान हुने अपेक्षा गरिएको छ।










Discussion about this post