रसुवा । धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्याएपछि सुस्ताएको पर्यटन व्यवसाय आवागमन सहज बन्दै गएसँगै पुनः लयमा फर्किन थालेको हो।
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार पछिल्लो समय पर्यटकको आगमन बढ्दै गएको छ। यसले होटल व्यवसायी, पथप्रदर्शक, यातायात मजदुर तथा स्थानीय व्यवसायीलाई राहत पुगेको छ।
लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले पनि आवागमन सहज भएसँगै पर्यटकको आगमन नियमित हुन थालेको बताए।
स्थानीय व्यवसायीका अनुसार पछिल्लो समय गोसाइँकुण्डमा युवापुस्तासहित आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ। पदमार्गको स्तरोन्नति, सञ्चार सुविधा र पूर्वाधार विकास गर्न सके यस क्षेत्रको पर्यटन अझ विस्तार हुने अपेक्षा गरिएको छ।
समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड हिन्दू तथा बौद्ध धर्मावलम्बीको महत्वपूर्ण धार्मिक गन्तव्य हो। प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक महत्त्वका कारण यो क्षेत्र देश–विदेशका पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएको छ।










Discussion about this post