काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। भाइटीकाका कारण हिजो एक दिन विश्राम पाएको प्रतियोगिता आजदेखि पुनः सञ्चालन हुन लागेको हो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।
त्यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ।
अंक तालिकामा काठमाडौं गोर्खाज चार जित र एक हारसहित ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। समान ८ अंक रहेको सुदूरपश्चिम रोयल्स रनरेटका आधारमा दोस्रो स्थानमा छ।
त्यस्तै, तीन जित, एक हार र एक खेलमा नतिजाविहीन रहेको लुम्बिनी लायन्स ७ अंकसहित तेस्रो स्थानमा छ। पाँच अंक जोडेको चितवन राइनोज चौथो स्थानमा रहेको छ।
जनकपुर बोल्ट्स र विराटनगर किंग्स समान ४ अंकसहित क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन्। समान ४ अंक रहेको कर्णाली याक्स सातौँ स्थानमा रहँदा पाँच खेलमध्ये एक खेलमा मात्र जित निकालेको पोखरा एभेन्जर्स अंक तालिकाको अन्तिम स्थानमा छ।
आज हुने दुवै खेलले अंक तालिकामा टोलीहरूको स्थान परिवर्तन गर्न सक्ने भएकाले प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ।










Discussion about this post