काठमाण्डौ — संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालले अघि सारेको पर्वतीय क्षेत्र र जलवायु परिवर्तनको प्रभावसम्बन्धी मुद्दाले प्राथमिकता पाएको छ।
नेपाल र भुटानले संयुक्त रूपमा प्रस्ताव गरेको पर्वतीय क्षेत्र तथा तापक्रम वृद्धिले हिमाली क्षेत्रमा पार्ने प्रभावबारे आगामी दुई वर्षसम्म संवाद आयोजना गर्ने सहमति भएको हो।
जलवायु तथा वातावरण विज्ञ मञ्जित ढकालका अनुसार सम्मेलनको उद्घाटन सत्रमै नेपालको प्रस्तावलाई महत्त्व दिँदै यस विषयमा छलफल अघि बढाउने सहमति भएको छ। सम्मेलनको अध्यक्षताले नेपालको प्रस्तावमाथि परामर्श प्रक्रिया अघि बढाउने जनाएको छ।
नेपालले विगतका जलवायु सम्मेलनहरूमा पनि हिमालको तापक्रम वृद्धि, जलवायु परिवर्तन र पर्वतीय क्षेत्रमा देखिएका जोखिमका विषय उठाउँदै आएको छ।
यसपटक सम्मेलनको सुरुवातमै नेपालको प्रस्तावले महत्त्व पाउनुलाई जलवायु न्याय र हिमाली क्षेत्रका मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।










Discussion about this post