काठमाडौं – यस वर्षको तिहारमा लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार उक्त माग पूरा गर्न आन्तरिक विद्युत् उत्पादन नै पर्याप्त हुनेछ। लक्ष्मीपूजाका दिन विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको उहाँले जानकारी दिनुभयो।
आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले तिहारमा विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणको विश्वास छ। पर्व अवधिभर विद्युत्को माग र आपूर्तिको अवस्थाबारे नियमित अनुगमन गरिनेछ। यसका लागि प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच निरन्तर समन्वय गरिने प्राधिकरणले जनाएको छ।
यसैबीच, प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा विद्युत्को सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ।
घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिएमा आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ।
त्यस्तै, विद्युत् आपूर्तिसम्बन्धी समस्या वा गुनासो भएमा नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ।










Discussion about this post