काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायालयमा देखिएका विकृति, विसङ्गति र पछिल्ला विवाद समाधानका लागि संसद्मार्फत अघि बढ्ने निष्कर्ष निकालेको छ।
पार्टीको केन्द्रीय कार्यालय चःमतीमा बसेको सचिवालय बैठकले विवादमा परेका सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने विषयमा संसदीय दललाई निर्देशन दिएको हो।
रास्वपाका प्रवक्ता जगदीश खरेलले न्यायाधीशसँग जोडिएका पछिल्ला विवादको निरुपण आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार न्यायालयको पुनःसंरचना र सुधारका लागि संसदीय प्रक्रियाबाट समाधान खोज्नुपर्ने पार्टीको निष्कर्ष छ।
महाभियोगबारे सोधिएको प्रश्नमा प्रवक्ता खरेलले संसदीय प्रक्रियामा प्रवेश गरेपछि मात्रै त्यसबारे निर्णय हुने बताउनुभयो।
यसैगरी, पत्रकार पक्राउ तथा धरपकडका घटनाप्रति पनि पार्टीले गम्भीर चासो व्यक्त गरेको छ। घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने रास्वपाको भनाइ छ।
प्रवक्ता खरेलले रास्वपा प्रेस स्वतन्त्रता र मानव अधिकारको पक्षमा दृढ रहेको स्पष्ट पार्नुभयो।










Discussion about this post