काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गर्नुभएको छ। चीनको हपवे प्रदेशस्थित स्योङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन उहाँ चीन जानुभएको हो।
‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मूल विषय रहेको उक्त सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।

सम्मेलनमा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति, बहुपक्षीयताको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको भूमिकालगायतका विषयमा छलफल हुनेछ।
त्यसैगरी जलवायु परिवर्तन, हरित विकास, दिगो विकास, कृत्रिम बौद्धिकता (एआई), साइबर स्पेस र अन्तर्राष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिकाबारे पनि बहस हुने जनाइएको छ।
पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।










Discussion about this post