दार्चुला — दार्चुलाको अपिहिमाल गाउँपालिकामा आगामी कात्तिक १७ देखि १९ गतेसम्म तीनदिने ‘अपिहिमाल पर्यटन उत्सव’ आयोजना हुने भएको छ ।
पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना र आयआर्जनका अवसर विस्तार गर्दै ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार सञ्चालन हुन लागेको उत्सव अपिहिमाल गाउँपालिका–१ स्थित अपिहिमाल बेसक्याम्पको पिलकन्दमा आयोजना हुनेछ । उत्सवसँग सम्बन्धित विभिन्न गतिविधि गाउँपालिकाका अन्य क्षेत्रमा समेत सञ्चालन गरिने जनाइएको छ ।
नेपाल सरकार र अपिहिमाल गाउँपालिकाको साझेदारीमा सञ्चालित दिगो पर्यटन परियोजनाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गर्दै आएको छ । गाउँपालिकाले अपिहिमाल बेसक्याम्पलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।
उत्सवलाई व्यवस्थित बनाउन गाउँपालिका अध्यक्षको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समितिमा गाउँपालिका उपाध्यक्ष, सबै वडाका अध्यक्षलगायत सदस्य रहनेछन् भने प्रमुख प्रशासकीय अधिकृतले सदस्य सचिवको जिम्मेवारी सम्हाल्नेछन् ।
उत्सवबाट अपिहिमाल क्षेत्रको पर्यटन गतिविधि विस्तार हुनुका साथै स्थानीय बासिन्दाको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।











Discussion about this post