काठमाडौं । गोरखाको बुढीगण्डकीमा आएको बाढी र पहिरोको कारण वर्षा मात्र नभई पहिरोले खोला थुनिएर बनेको अस्थायी बाँध (ड्यामिङ) हुनसक्ने मौसम विज्ञान विभागले प्रारम्भिक अनुमान गरेको छ।
विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठका अनुसार गोरखाका बारपाक, नामरुङ र सेतीबेसीलगायतका वर्षामापन केन्द्रमा पछिल्ला दिनमा सामान्यदेखि मध्यम वर्षा रेकर्ड भएको छ। तर, उक्त वर्षाले मात्र ठूलो बाढी ल्याउने अवस्था नदेखिएकाले पहिरोका कारण खोला थुनिएर एक्कासि बाढी आएको हुनसक्ने विभागको प्रारम्भिक विश्लेषण छ।
विभागका अनुसार अक्टोबर ६ मा बारपाकमा २१ मिलिमिटर तथा अक्टोबर १० मा विभिन्न केन्द्रमा ५ देखि २४ मिलिमिटरसम्म वर्षा भएको थियो। अक्टोबर ७ देखि ९ सम्म पनि केही स्थानमा छोटो समयमा वर्षा रेकर्ड गरिएको थियो।

महानिर्देशक श्रेष्ठले उच्च हिमाली क्षेत्रमा भएको हिमपात वा हिमनदीसम्बन्धी घटनाको सम्भावनाबारे समेत अध्ययन भइरहेको जानकारी दिइन्। घटनाको वास्तविक कारण यकिन गर्न थप अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।
हाल उक्त क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना नरहे पनि कमजोर भूभाग र बाढी प्रभावित क्षेत्रमा निरन्तर निगरानी तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।










Discussion about this post