कैलाली । कैलालीको चुरे गाउँपालिकामा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी विकास, प्रमाणीकरण तथा अनुमोदन कार्यशाला गोष्ठी सम्पन्न भएको छ। मर्सीकोर नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र द कोकाकोला फाउन्डेसनद्वारा संयुक्त रूपमा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण’ (सान) परियोजना अन्तर्गत चुरे गाउँपालिकासंगको समन्वयमा कार्यशाला आयोजना गरिएको हो।
सान परियोजनाका संयोजक देवराज बडुले विपद्को पूर्वअनुमान गरी जोखिम कम गर्नु नै यो परियोजनाको मुख्य लक्ष्य रहेको बताउनुभयो। उहाँले चुरे क्षेत्रमा पूर्वसूचना प्रणाली संयन्त्रलाई अझ बढी व्यावहारिक, भरपर्दो र स्थानीय समुदाय अनुकूल बनाउन सबै सरोकारवालाहरू गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा गाउँपालिकाका विपद् सम्पर्क व्यक्ति काली प्रसाद भट्टले विपद् व्यवस्थापनमा सञ्चार माध्यमको महत्व र विपद्का समयमा सहभागीहरूको भूमिका विषयमा केन्द्रित रहेर आफ्नो प्रस्तुतीकरण दिनुभएको थियो। उहाँले जोखिम न्यूनीकरणका लागि सही समयमा सही सूचनाको प्रवाह हुनुपर्नेमा जोड दिनुभएको छ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष धना देवी थापाले चुरे क्षेत्र भौगोलिक रूपमा विपद्को उच्च जोखिममा रहेकाले यस्ता पूर्वसूचना प्रणाली संयन्त्रहरू पालिकाका लागि अत्यन्तै उपयोगी र समय सान्दर्भिक हुने बताउनुभएको छ। स्थानीय सरकारको समन्वयमा आगामी दिनमा पनि यस्ता प्रणालीहरूलाई थप सुदृढ बनाउँदै लगिने उहाँले बताउनुभयो।
कार्यक्रममा मर्सीकोर नेपालका सिनियर प्रोग्राम संयोजक सरोज ठाकुर, चुरे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्री लगायत पालिकाका विभिन्न शाखा प्रमुखहरू, सामुदायिक विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरू तथा जोखिमयुक्त क्षेत्रका स्थानीय युवाहरूको सहभागिता रहेको थियो। कार्यशालाले स्थानीय स्तरमा विपद् पूर्वकार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्त्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ।










Discussion about this post