कैलाली । कैलालीको भजनी नगरपालिकामा रहेका सामुदायिक विपद् व्यवस्थापन समितिहरूलाई दक्ष बनाउने र सम्भावित जोखिमको प्रभावकारी सामना गर्ने उद्देश्यका साथ ५ दिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ सुरु भएको छ। विपद्का समयमा समुदाय स्तरमै तत्काल खोज, उद्धार र प्राथमिक उपचार गर्न सक्ने जनशक्ति तयार पार्न यो तालिम सञ्चालन गरिएको हो।

मर्सीकोर नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र द कोकाकोला फाउन्डेसनद्वारा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण’ (सान) परियोजनाको आर्थिक सहयोगमा यो तालिम आयोजना गरिएको हो। यस कार्यक्रममा एमरेड परियोजनाले समुदायसँगको सहकार्यमा समन्वय गरिरहेको छ। तालिममा भजनी नगरपालिकाको वडा नम्बर ३ र ७ अन्तर्गतका चारवटा सामुदायिक विपद् व्यवस्थापन समितिका ६–६ जना गरी कुल २४ जनाको सहभागिता रहेको छ।

तालिमको उद्घाटन गर्दै भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले भजनी क्षेत्र भौगोलिक रूपमा विपद्को उच्च जोखिममा रहने भएकाले स्थानीय स्तरमै दक्ष जनशक्ति तयार हुनु अनिवार्य रहेको बताउनुभयो। उहाँले बाढी र अन्य प्राकृतिक विपद्को समयमा बाह्य सहयोग पर्खिनु भन्दा स्थानीय स्तरकै युवाहरूले गर्ने तत्कालको उद्धार बढी प्रभावकारी र जीवनरक्षक हुने धारणा व्यक्त गर्नुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरुले विपद्को समयमा सबैभन्दा पहिले समुदायकै मानिसहरू अग्रपंक्तिमा खटिने भएकाले उनीहरूको क्षमता अभिवृद्धि गर्नु नै वास्तविक पूर्वतयारी भएको बताउनुभयो। उहाँले संस्थाले स्थानीय सरकार र समुदायसँग मिलेर विपद्को जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग र जनशक्ति विकासलाई सधैं प्राथमिकता दिँदै आएको बताउनुभयो।

त्यस्तै भजनी नगरपालिकाकी उप–प्रमुख राजु तिरुवाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै विपद्को समयमा समुदायको धनजनको क्षति न्यूनीकरण गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले यस्ता तालिमहरूले महिला र सीमान्तकृत वर्गलाई विपद्को समयमा कसरी सुरक्षित राख्ने भन्नेबारे समुदायको दृष्टिकोण परिवर्तन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
सान परियोजनाका संयोजक देवराज बडुले ५ दिनसम्म सहभागीहरूलाई सञ्चार र समुदाय परिचालन, सामुदायिक नक्सांकन, आधारभूत खोज तथा उद्धार, अवस्थाको विश्लेषण, खोज विधि, संरचना र संकेत चिन्हहरूका बारेमा प्रयोगात्मक अभ्यास गराइने बताउनुभयो। उहाँका अनुसार आगलागी, आपतकालीन अवस्था व्यवस्थापन, पानीजन्य आपतकालीन अवस्था र घाइतेको सुरक्षित उद्धार तथा स्थानान्तरण सम्बन्धी सीपमा सहभागीहरूलाई निपुण बनाइनेछ।

यसैगरी, तालिममा महामारी परिचय, प्राथमिक उपचार, मनोसामाजिक सहयोग, मुटु तथा फोक्सो पुनर्जीवन प्रक्रिया (CPR), रक्तस्राव र चोटपटक व्यवस्थापन, तनाव व्यवस्थापन, जलन (Burn) व्यवस्थापन तथा विषाक्तता र जनावरको टोकाइ सम्बन्धी प्राथमिक उपचारका बारेमा समेत विस्तृत व्यवहारिक ज्ञान प्रदान गरिनेछ। नेपाल रेडक्रस सोसाईटीका प्रशिक्षकद्वय सुशील चौधरी र खेमराज विश्वकर्माले तालिमको प्रशिक्षण गरिरहनुभएको छ।










Discussion about this post